२४ चैत्र २०८१, सोमबार

राप्ती गाउँपालिकाको समृद्धि र समानताको यात्रा

प्रकाशित मिति :  26 March, 2025 7:07 am


जीवन कुमारी जिसी,

  • राप्ती गाउँपालिकाले समावेशी विकास र सामाजिक सशक्तीकरणका लागि महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै समानता र समृद्धिको लक्ष्यमा अघि बढेको छ ।

दाङको राप्ती गाउँपालिका सामाजिक विकासका सूचकहरूमा उत्कृष्टता हासिल गर्दै आएको छ । लैंगिक समानता र सामाजिक सशक्तीकरणमा महत्वपूर्ण उपलब्धीहरू हासिल गरेसँगै गाउँपालिका जिल्लाको मात्र नभई मुलुककै उत्कृष्ट पालिकामा बन्न सफल भएको छ ।

सामाजिक सशक्तीकरणमा उदाहरणीय पहल
पछिल्ला वर्षहरूमा सामाजिक विकासका विविध सूचकहरूमा गाउँपालिकाले उल्लेखनीय सफलता हासिल गर्न सफल भएको छ । महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायका लागि सञ्चालन गरेका कार्यक्रमहरू पनि उदाहरणीय छन् । विशेष गरी, सामाजिक सशक्तीकरण र लैंगिक समानताको दिशामा अघि बढ्न गाउँपालिकाले प्रभावकारी नीति तथा कार्यक्रमहरू अवलम्बन गरेको छ ।

यस कार्यमा पालिकाले आर्थिक वर्ष २०७९/०८० मा ४२ लाख वजेट खर्च गरेको छ । जसबाट ४५१ लाभान्वित भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा ४२ लाख वजेट खर्च गरेको छ । जसबाट ४८३ लाभान्वित भएका छन् । त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा ५२ लाख ५० हजार वजेट विनियोजन गरिएको गरेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले समाजिक सशक्तीकरणमा विशेष रणनीति अगाडि सारेको जानकारी दिए । उनका अनुसार गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउनुका साथै बालअधिकार, जेष्ठ नागरिकको संरक्षण, अपाङ्गता भएका नागरिकहरुलाई लक्षित गरी बजेट विनियोजन र कार्यान्वयनमा जोड दिइरहेको छ ।

“समाजका सबै वर्गलाई समान अवसर प्रदान गर्दै सामाजिक सशक्तीकरणलाई प्रवद्र्धन गर्नु हाम्रो प्रमुख लक्ष्य हो । यसका लागि गाउँपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम तथा आयआर्जन कार्यक्रमहरू सञ्चालन गरिरहेको छ”, अध्यक्ष बिष्टले भने, “बालअधिकारको संरक्षण, जेष्ठ नागरिकको सम्मानजनक जीवनयापन र अपाङ्गता भएका नागरिकहरूको हकहित सुनिश्चित गर्न विशेष बजेट विनियोजन गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेका छौं । यी कार्यक्रमहरू समावेशी विकासको प्रमुख आधारशिला हुन्, जसले हाम्रो समाजलाई समानता र समृद्धिको दिशामा अघि बढाउँछ ।”

समावेशी विकासका लागि गाउँपालिकाको पहल
राप्ती गाउँपालिकाले महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सुरक्षाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले ३३ जना अनाथ बालबालिकालाई मासिक भत्ता वितरण गरेको छ । साथै, अपाङ्गता भएका ६१ जनालाई अपाङ्ग परिचयपत्र वितरण गर्नुका साथै पालिकास्तरमा अपाङ्ग सञ्जाल गठन गरेको छ ।

विद्यालयस्तरमा सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले १८ वटा माध्यमिक विद्यालयमा एक सय जना बालबालिकालाई बालविवाह, बहुविवाह तथा लागुऔषध दुव्र्यसनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । अपाङ्गता भएका जेष्ठ नागरिकहरूको हितका लागि २३ जनालाई ह्वील चियर तथा बैसाखी प्रदान गरिएको छ, भने ३१ जना अशक्त नागरिकलाई डाइपर वितरण गरिएको छ ।

“हामीले सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई उच्च प्राथमिकता दिँदै आएका छौं । विशेषगरी महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको हक, हित र संरक्षण सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं”, अध्यक्ष बिष्टले भने, “अनाथ बालबालिकाका लागि मासिक भत्ता, अपाङ्गता भएका नागरिकहरूको पहिचान र सहजीकरण, विद्यालयस्तरीय सामाजिक सचेतना अभियान तथा जेष्ठ नागरिकहरूको सम्मान र सहयोग कार्यक्रमहरू यसै प्रयासका उदाहरण हुन् । हामी समावेशी विकासमार्फत सबै नागरिकलाई समान अवसर प्रदान गर्न कटिबद्ध छौं ।”

समाजका सबै क्षेत्र र वर्गलाई समेटेर अघि बढ्ने रणनीतिमा रहेको भन्दै उपाध्यक्ष कमलापति चौधरीले अनाथ बालबालिकादेखि जेष्ठ नागरिकसम्म, अपाङ्गता भएका व्यक्ति तथा दलित समुदायका लागि विशेष योजनाहरू कार्यान्वयन गरेको जानकारी दिए । “उपलब्ध स्रोत र साधनको प्रभावकारी व्यवस्थापन गर्दै सबैलाई समान अवसर सुनिश्चित गर्न पालिका प्रतिबद्ध छ”, उपाध्यक्ष चौधरीले भनिन् ।

आयआर्जन कार्यक्रम
महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले राप्ती गाउँपालिकाले कटाइ सिलाइ तालिम सञ्चालन गरेको छ । यस तालिमबाट महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरी उनीहरूको आयआर्जनका लागि अवसर सिर्जना गरिएको छ ।

साथै, जेष्ठ नागरिकहरूका लागि सेवा सुविधाहरू थप व्यवस्थित गर्न पहिले नै सञ्चालनमा रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई बाँकी सात वडासम्म विस्तार गरिएको छ । यसबाट जेष्ठ नागरिकहरूले दैनिक रुपमा स्वास्थ्य सेवा, मनोरञ्जन तथा परामर्श सेवाहरू प्राप्त गर्न सकेका छन् ।

बालबालिकाको सुरक्षा र समृद्ध भविष्य सुनिश्चित गर्ने लक्ष्यसहित पालिकाले “बाल मैत्री वडा” घोषणा गर्ने अभियान थालेको छ । वडा नम्बर ८ बाट थालनी गरिएको यो अभियान क्रमशः अन्य वडाहरूमा पनि विस्तार गरिँदैछ ।

राप्ती गाउँपालिकाका उपाध्यक्ष चौधरीले भनिन्, “बाल अधिकार संरक्षण र महिला सशक्तीकरण हाम्रो प्रमुख प्राथमिकता हो । पालिकाका सबै वडाहरूमा बालबालिका मैत्री संरचना तथा महिला लक्षित कार्यक्रम विस्तार गर्दैछ ।” यस कार्यमा पालिकाले आर्थिक वर्ष २०७९/०८० मा ४२ लाख वजेट खर्च गरेको छ । जसबाट ४५१ जना लाभान्वित भएका छन । आर्थिक वर्ष २०८०/०८१ मा ४२ लाख वजेट खर्च गरेको छ । जसबाट ४८३ जना लाभान्वित भएका छन् । त्यस्तैे आर्थिक वर्ष २०८१/०८२ मा ५२ लाख ५० हजार वजेट बिनियोजन गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिका लागि गाएँपालिकाको पहल
राप्ती गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, सहयोग तथा सशक्तीकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । २०८१ असार मसान्तसम्म गाउँपालिकाले ४६५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिसकेको छ ।

तीमध्ये गम्भीर अवस्थाका ४१ महिला र ५० पुरुष गरी ९१ जना रहेका छन् । मध्यम श्रेणीका अपाङ्गता भएका २४२ जना व्यक्तिहरूलाई परिचयपत्र प्रदान गरिएको छ । जसमा ८९ महिला र १५३ पुरुष रहेका छन् । सामान्य श्रेणीमा पर्ने ८१ जनामध्ये ३० जना महिला र ४१ जना पुरुष छन् भने हल्का श्रेणीमा पर्ने ५२ जनामध्ये २१ जना महिला र ३२ जना पुरुष रहेका छन् ।

२०७८ सालदेखि २०८१ असार मसान्तसम्म ६१ जनालाई नयाँ अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । तीमध्ये २३ जना महिला र ३८ जना पुरुष रहेका छन् । अपाज्ञङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्र प्रदान गर्नुका साथै गाउँपालिकाले उनीहरूको हक, हित र समग्र जीवनस्तर सुधारका लागि विभिन्न सहायता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

जेष्ठ नागरिकका लागि विशेष कार्यक्रम
गाउँपालिकाले जेष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षासँग जोड्ने उद्देश्यले परिचयपत्र वितरण गर्दै आएको छ । २०७८ असार मसान्तसम्म १ हजार ६ सय ५ जना जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको थियो, जुन २०८१ असार मसान्तसम्म बढेर ३ हजार २८ पुगेको छ । यस अवधिमा गाउँपालिकाले जेष्ठ नागरिकहरूको सामाजिक सुरक्षा र सम्मानमा विशेष ध्यान दिएको देखिन्छ ।

वडागत रूपमा हेर्दा, वडा नम्बर ८ मा सबैभन्दा बढी ४५३ जना जेष्ठ नागरिक परिचयपत्र प्राप्त गरेका छन्, जसले यस वडामा जेष्ठ नागरिकको उल्लेखनीय उपस्थिति दर्शाउँछ । वडा नम्बर ४ मा ४२० जना, वडा नम्बर ५ मा ३९७ जना, र वडा नम्बर १ तथा ३ मा समान रूपमा ३९३÷३९३ जना रहेका छन् । वडा नम्बर ६ मा २९२ जना जेष्ठ नागरिकहरूले परिचयपत्र पाएका छन्, भने वडा नम्बर २ मा २५३ जना रहेका छन्। वडा नम्बर ९ मा सबैभन्दा कम ३४ जना मात्र परिचयपत्र प्राप्त गरेका छन् ।

गाउँपालिकाले परिचयपत्र वितरणलाई मात्र प्राथमिकता दिएको छैन, यससँगै जेष्ठ नागरिकहरूको सम्मान, सेवासुविधा तथा उनीहरूको हक अधिकार संरक्षणका लागि समेत विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । जेष्ठ नागरिक दिवा सेवा केन्द्रको विस्तार, सामाजिक सुरक्षा भत्ता वितरण, तथा जेष्ठ नागरिक अनुकूल वातावरण निर्माणका प्रयासहरू गाउँपालिकाका महत्वपूर्ण सामाजिक योगदानहरू हुन् ।

“गाउँपालिकाले जेष्ठ नागरिकहरूको सम्मान र उनीहरूको हक अधिकार संरक्षणका लागि विविध पहल गर्दै आएको छ । जेष्ठ नागरिक दिवा सेवा केन्द्रको विस्तार, सामाजिक सुरक्षा भत्ता वितरण र जेष्ठ नागरिक अनुकूल वातावरण निर्माणका कार्यहरू गाउँपालिकाको मुख्य प्राथमिकता हुन् । हामी यस कार्यमा निरन्तरता दिनेछौं र जेष्ठ नागरिकहरूको जीवनस्तर सुधारका लागि थप पहलहरू अगाडि ल्याउनेछौं”, अध्यक्ष बिष्टले भने ।

समाज परिवर्तनका लागि समावेशी नीति
राप्ती गाउँपालिकाले समाजका सबै वर्गलाई समेट्ने गरी नीति तथा कार्यक्रमहरू अघि सारेको छ । लैंगिक समानताको प्रवद्र्धन, अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउने उपाय, जेष्ठ नागरिकहरूका लागि सम्मानजनक जीवन, तथा विपन्न समुदायलाई आत्मनिर्भर बनाउने कार्यक्रमहरूका कारण गाउँपालिका उदाहरणीय बनेको छ ।

गाउँपालिकाले अवलम्बन गरेको समावेशी विकास मोडेल र सामाजिक सशक्तीकरण कार्यक्रमहरू प्रदेशका अन्य पालिकाहरूका लागि पनि प्रेरणादायी बन्न सक्छन् । स्थानीय नेतृत्वको सक्रियता, सेवाग्राहीको सन्तुष्टि, तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको राप्ती गाउँपालिकाको यी प्रयासहरू वास्तवमै प्रशंसनीय छन् ।

“समाज परिवर्तनका लागि समावेशी नीतिहरू हाम्रो प्रमुख लक्ष्य हुन् । राप्ती गाउँपालिकाले सबै वर्गलाई समेटेर लैंगिक समानता, अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष उपाय, जेष्ठ नागरिकहरूको सम्मान र विपन्न समुदायलाई आत्मनिर्भर बनाउनको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यी कार्यक्रमहरूले हाम्रो समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुर्याइरहेका छन् र अन्य पालिकाहरूलाई प्रेरणा दिन सक्छन्”, अध्यक्ष विष्टले भने ।

पालिकाका उपाध्यक्ष कमलापति चौधरीले सामाजिक सशक्तिकरणमा विशेष जोड दिएको बताइन्, “समावेशी विकास र सामाजिक सशक्तीकरणका लागि हामीले कार्य योजना बनाएका छौं । राप्ती गाउँपालिकामा महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू र विपन्न समुदायको हकमा विशेष ध्यान दिइन्छ। हाम्रो प्रयास समाजका हरेक वर्गलाई समान अवसर र सम्मान दिनु हो, र हामी यस लक्ष्यमा निरन्तर प्रयासरत छौं ।”



प्रतिक्रिया दिनुहोस !