शिक्षक महासंघलाई शिक्षा समितिको आग्रहः तपाईंहरूका माग सम्बाेधन गर्न सकारात्मक छौँ, आन्दोलन स्थगन गर्नुहोस्

काठमाडाैँ । अबको शिक्षालाई आत्मनिर्भर र सीपमुलक हुनेगरी विद्यालय शिक्षा विधेयक आउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।
सोमवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको बैठकमा बोल्दै सांसदहरुले अबको शिक्षा सीपमुलक र आत्मनिर्भर बन्नुपर्ने उनीहरूको भनाइ छ । स्वार्थ समूहको हातमा जान नदिइ राष्ट्रिय स्वार्थलाई ध्यान दिएर विद्यालय शिक्षा विधेयक बनाइनुपर्नेमा सांसदहरू जोड दिए ।
उनीहरूले विद्यार्थीलाई विदेश जान रोक्ने किसिमको विधेयक आवश्यक रहेको बताए । बैठकमा बोल्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक धेरै महत्वपूर्ण विधेयक भएको बताउँदै शिक्षालाई सुधार नगरेसम्म देशलाई सुधार्न नसकिने बताए ।
उनले विद्यालय शिक्षा विधेयक स्वार्थ समूहको हातमा पर्न नदिकन राष्ट्रिय स्वार्थलाई ध्यान दिएर काम गर्नुपर्ने बताए । उनले अबको शिक्षा आत्मनिर्भर र सीपमुलक शिक्षा हुनेगरी विधेयक बनाइनुपर्ने बताए । अबको शिक्षा लिएका विद्यार्थी विदेश जानु नपर्ने वातावरण निर्माण गर्नुपर्नुमा उनको जोड छ ।
समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले विद्यालय शिक्षा बनाउने कुरा चानचुने विषय नरहेको जिकिर गरिन् ।उनले विद्यालय शिक्षा विधेयक महत्वपूर्ण विधेयक भएकाले रिसोर्समा समस्या देखाएर राम्रो गराउनबाट रोकिनु नहुने धारणा राखिन् । उनले यस सम्बन्धी एउटा पर्मानेन्ट कार्यदल बनाएर काम गर्नुपर्नेमा जोड दिइन् ।
समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिका संयोजक एवं नेकपा एमाले सांसद छविलाल विश्वकर्माले नेपाल शिक्षक महासंघले राखेका मागहरूको सम्बोधन गर्न आफूहरू गम्भीर रहेको बताए । उनले महासंघले सरकार, समितिको ध्यानाकर्षण गराएको बारेमा आफूहरु जानकार रहेको र आफूहरू विधेयकप्रति जिम्मेवार रहेको बताए । उनले महासंघलाई विद्यालय शिक्षा पारित गर्नका लागि गरेको संघर्षमा आफूहरू सकारात्मक रहेको र सम्बोधन गरेर अघि बढ्न प्रतिवद्ध रहेको बताए । संघर्षको कार्यक्रम स्थगन गरी काममा फर्कन आग्रह गर्नुभयो । उहाँले प्रत्यक्ष र परोक्ष ढंगबाट सुझाव दिएर सघाउन आग्रह गरे ।
संयोजक विश्वकर्माले समितिको ११३ वटा बैठकमा ३३ वटा बैठक विद्यालय शिक्षा विधेयकमा मात्रै केन्द्रित भएर बसेको बताए ।सरकारले विद्यालय शिक्षा विधेयकमा गरेको सहमति विपरित अघि बढेको भन्दै शिक्षक महासंघले केही समय यता आन्दोलन र विभिन्न राजनीतिक दलका कार्यालयहरुमा धर्ना दिइरहेका छ ।