१९ चैत्र २०८१, बुधबार

दाङकाे टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा पुनः सञ्चालन

प्रकाशित मिति :  31 March, 2025 12:56 pm


दाङ । तीन महिनापछि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा पुनः हवाई सेवा सञ्चालनमा आएको छ । नेपाल एयरलाइन्सका अनुसार अबदेखि हरेक सोमबार नियमित उडान हुनेछ भने यात्रुको मागअनुसार थप उडानको सम्भावनासमेत रहेको छ।

बन्द हुँदै, खुल्दै टरिगाउँ विमानस्थल
टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा अवरुद्ध हुँदै आएको इतिहास छ। यस पटक, गत पुस २ गतेदेखि उडान बन्द थियो । नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारका अनुसार निगमका दुईवटा जहाज बिग्रिएकाले सेवा रोकिएको थियो । आगामी १५ दिनभित्र जहाज मर्मत सम्पन्न गरी पुनः नियमित उडान सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए ।

धावनमार्ग सानो, हवाई सेवा सीमित
विमानस्थलको धावनमार्ग ७५० मिटर मात्रै रहेको हुँदा ठूला जहाज अवतरण गर्न नसक्ने अवस्था छ । हाल १९ सिटे जहाज मात्रै सञ्चालन भए पनि उडान अनियमित हुँदा यात्रु नेपालगञ्ज वा भैरहवा जान बाध्य छन् । धावनमार्ग विस्तारका लागि पटक–पटक माग उठे पनि हालसम्म ठोस निर्णय भएको छैन । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार ठूला जहाजका लागि धावनमार्गको लम्बाइ १,२५० देखि १,५५० मिटर र चौडाइ ३० देखि ५० मिटर आवश्यक पर्ने उल्लेख गरिएको छ ।

विस्तारका लागि बजेटको अभाव
टरिगाउँ विमानस्थलको स्तरोन्नतिको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।

आवश्यक ५ अर्ब बजेटमध्ये चालू आर्थिक वर्षमा १ करोड विनियोजन भइसकेको छ भने थप ९९ करोड माग गरिएको छ । विमानस्थल क्षेत्रभित्र पर्ने कपास विकास समितिको ४ बिघा जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको छ ।

विमानस्थल स्तरोन्नतिका लागि जनस्तरबाट दबाब
स्थानीय उद्योगी व्यवसायी तथा नागरिक समाजले विमानस्थल विस्तारका लागि अभियान सञ्चालन गरिरहेका छन् । तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा ‘खुत्रुके अभियान’ सञ्चालन गरिएको थियो, जसले सरकारलाई दबाब दिने उद्देश्य राखेको थियो । सामाजिक संघसंस्थाले समेत विमानस्थलमै बैठक सञ्चालन गर्दै तत्काल स्तरोन्नतिको माग राखेका छन् ।

हवाई सेवाको अभावले विकासमा असर
नियमित हवाई सेवा नहुँदा व्यापार, उद्योग र पर्यटन क्षेत्र प्रभावित भएको स्थानीय निजी क्षेत्रका अगुवाहरू बताउँछन्। सडक यातायात असहज हुँदा लगानीकर्ताले दाङलाई प्राथमिकता नदिएको गुनासो छ । नेताहरुले चुनावी एजेन्डामा टरिगाउँ विमानस्थल विस्तारको कुरा उठाए पनि व्यवहारिक कार्यान्वयन हुन सकेको छैन ।

टरिगाउँ विमानस्थलको हवाइ सेवा पुनः सञ्चालन भएसँगै स्थानीयहरू उत्साहित देखिएका छन् तर सेवा दिगो र नियमित बनाउन धावनमार्ग विस्तार तथा पूर्वाधार सुधार अपरिहार्य छ । यदि सरकारले आवश्यक बजेट सुनिश्चित गर्न सक्यो भने टरिगाउँ विमानस्थल निकट भविष्यमा क्षेत्रीय हवाई यातायातको केन्द्र बन्न सक्ने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस !