२५ चैत्र २०८१, मंगलबार

प्रादेशिक अस्पताल भालुबाङमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

प्रकाशित मिति :  1 April, 2025 9:08 am


तुल बहादुर कवँर मगर,
दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ स्थित ५० शैयाको प्रादेशिक अस्पताल भालुबाङमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ ।

गाउँपालिका–१ भालुबाङकी १४ वर्षिया कविता वलीको आइतबार दिउँसो सफल शल्यक्रिया गरिएको हो । एपेन्डिसाइटिसका लक्षण देखिएपछि परिवारले कवितालाई तत्काल अस्पताल पुर्याएका थिए । एमडिजिपी डा. रणबहादुर बोगटी नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

शल्यक्रिया टोलीमा मेडिकल अधिकृत डा. रविन मण्डल, सिनियर एनेस्थेटिस्ट असिस्टेन्ट मधु सुनार, सिनियर स्टाफ नर्स मनिता अधिकारी लगायत अन्य स्वास्थ्यकर्मी संलग्न थिए ।

प्रादेशिक अस्पताल भालुबाङमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको डा. बोगटीले जानकारी दिए । “एपेन्डिसाइटिस आकस्मिक रूपमा देखापर्ने गम्भीर रोग हो । समयमै उपचार नगरे घातक हुन सक्छ । बिरामीको अवस्थाअनुसार शल्यक्रिया आवश्यक पर्छ”, उनले भने ।

डा. बोगटीका अनुसार एपेन्डिसाइटिस हुँदा बिरामीलाई पटक–पटक पेट दुख्ने, भोक कम लाग्ने, वाकवाकी लाग्ने, लगातार पेट दुखिरहने र ज्वरो आउने समस्या देखिन्छ। यदि लामो समयसम्म उपचार नगरिए एपेन्डिक्स फुट्ने जोखिम रहन्छ ।



प्रतिक्रिया दिनुहोस !