मन्त्रिपरिषद्को निर्णय : हिउँदे अधिवेशन अन्त्य, म्यानमारमा राहत टोली पठाइने

काठमाडौँ । सरकारले संघीय संसदको चालु हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले चैत १९ गते मंगलबार राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
गत माघ १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन संसदलाई सक्रिय बनाउँदै धेरै विधेयक पारित गर्ने उद्देश्यले बोलाइए पनि अपेक्षाकृत विधेयक पारित हुन सकेन ।
मंगलबार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक भने बस्दै नबसी टुंगिने भएको छ। राष्ट्रिय सभाको बैठक चैत २५ गते दिउँसो १:१५ बजेका लागि बोलाइए पनि १९ गते नै अधिवेशन अन्त्य हुने भएकाले बैठक नै नबस्ने भएको हो ।
म्यानमारमा राहत टोली पठाउने निर्णय
मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित म्यानमारमा नेपाली सेनाको टोली पठाउने निर्णय गरेको छ। गएको शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण २,५०० भन्दा बढीको मृत्यु, उति नै संख्यामा मानिसहरू बेपत्ता तथा हजारौं घाइते भएको जनाइएको छ ।
नेपाली सेनाको चिकित्सकसहितको टोलीले म्यानमार सरकारलाई राहत, उद्धार तथा उपचारमा सहयोग गर्नेछ । साथै, सरकार नेपाल वायुसेवा निगमको विमानमार्फत औषधि तथा राहत सामग्री म्यानमार पठाउने निर्णय गरेको छ ।
थाइल्यान्डस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई सहयोग
बैठकले थाइल्यान्डस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT) लाई १ लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेक सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंकक जाने कार्यक्रम छ ।
बैंकक बसाइका क्रममा उहाँले एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा विशेष मन्तव्य दिने कार्यक्रम रहेको छ। सोही अवसरमा नेपाल सरकारको तर्फबाट १ लाख अमेरिकी डलरको सहयोग हस्तान्तरण गरिनेछ । नेपाल एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको संस्थापक सदस्य रहेको छ ।