संसद नियन्त्रणमुखी भएको रास्वपा सांसद गौतमको आरोप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले हिउँदे अधिवेशन नियन्त्रणमुखी भएको आरोप लगाएकी छन् । मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले अधिवेशनका केही प्रक्रिया स्वाभाविक भए पनि समग्रमा चुनौतीपूर्ण र नियन्त्रित देखिएको बताइन्।
“यो अधिवेशन हाम्रो बुझाइमा अत्यन्तै चुनौतिपूर्ण रह्यो,” उनले भनिन्, “कानून निर्माणका केही प्रक्रिया स्वाभाविक रूपमा अघि बढे पनि धेरै विषय नियन्त्रणमुखी ढंगले प्रस्तुत भए ।” उनले पार्टी सभापति रवि लामिछानेमाथिको निलम्बन प्रक्रियालाई समेत नियन्त्रित भएको संकेत गरिन् ।
सांसद गौतमले हरेक विषयलाई राजनीतिक दृष्टिकोणबाट मात्र हेर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरिन् । “सबै कुरालाई राजनीतिक चस्माबाट हेरिन्छ, जसले सही र गलत छुट्याउने आधार नै कमजोर बनाउँछ,” उनले थपिन् ।
रास्वपाले यसअघि पनि विधेयक निर्माण प्रक्रियामा आफ्नो भूमिका कमजोर पारिएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । गौतमको यो भनाइले संसद्भित्रको पछिल्लो गतिविधिप्रति पार्टीको असहमति झल्काउँछ ।