आज विश्व ‘अटिजम’ जागरुकता दिवस : सचेतना फैलाउन विविध कार्यक्रम

काठमाडौँ । विश्व ‘अटिजम’ जागरुकता दिवस आज विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यो दिवसमार्फत अटिजमबारे सचेतना फैलाउने र यो अवस्थामा रहेका व्यक्तिको जीवनस्तर सुधारमा जोड दिइँदै छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाउन थालिएको हो । अटिजम भएका व्यक्तिको मानवअधिकार र मौलिक स्वतन्त्रताको सम्मान तथा उपभोग सुनिश्चित गर्न समाजका सबै तह र तप्काले सहयोग गर्नुपर्ने मान्यतासहित यो दिवसको सुरुवात गरिएको हो ।
राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले यो अवसरमा जारी गरेको सन्देशमा दिगो विकासका लक्ष्य हासिल गर्न र स्वास्थ्यसम्बन्धी प्रतिबद्धता पूरा गर्न यो दिवस महत्त्वपूर्ण हुने बताए ।
उनले अटिजम भएका व्यक्तिलाई स्वास्थ्य, शिक्षा र रोजगारीका अवसरमा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए । “हामीले उनीहरूलाई सम्मान र समानताको जीवन जिउन सघाउनुपर्छ,” उनको भनाइ छ।
नेपालमा पनि यो दिवसका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै छन् । अटिजम भएका व्यक्तिको हेरचाह, शिक्षा र सामाजिक स्वीकार्यताका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट पहल भइरहेको छ ।