२६ चैत्र २०८१, बुधबार

प्रधानमन्त्री ओली र थाइल्याण्डकी प्रधानमन्त्री शिनवातबीच भेटवार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर

प्रकाशित मिति :  2 April, 2025 12:40 pm


बैंकक । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डकी प्रधानमन्त्री पे थोङ थान शिनवातबीच बुधबार बैंककमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा दुई देशबीच सांस्कृतिक र पर्यटन सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

थाइल्याण्डको सरकारी भवनमा भएको शिष्टाचार भेटपछि नेपाल र थाइल्याण्डका सम्बन्धित मन्त्रीहरूबीच सांस्कृतिक सम्झौतापत्रमा हस्ताक्षर भयो। नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र थाइल्याण्डका तर्फबाट संस्कृतिमन्त्री सुदावान वाङसुफाकिजकोसोलले सम्झौतामा हस्ताक्षर गरे । त्यस्तै, पर्यटन तथा खेलकुदमन्त्री सोरावङ तिएन्थोङले पर्यटन सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

दुई देशका व्यापारिक संघसंस्थाबीच पनि समझदारीपत्र आदानप्रदान भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र थाइ चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार प्रवद्र्धनसम्बन्धी सम्झौता भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाइ चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले समझदारीपत्रमा हस्ताक्षर गरे ।

यस समझौताले नेपाल–थाइल्याण्ड व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्य प्रवद्र्धन गर्ने तथा लगानी विस्तारका लागि संरचनागत ढाँचा तयार गर्ने लक्ष्य राखेको छ ।

उद्योग परिसंघ र थाइ उद्योग महासंघ तथा नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्डको पर्यटन परिषद्बीच पनि सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको छ । साथै, काठमाडौं विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच शैक्षिक सहकार्यसम्बन्धी सम्झौतासमेत भएको छ।

सम्झौतापछि आयोजित पत्रकार सम्मेलनमा थाइल्याण्डकी प्रधानमन्त्री शिनवातले नेपालसँग शिक्षा, जलविद्युत् लगायतका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाइन् ।

नेपाल र थाइल्याण्डबीच लामो समयदेखिको सम्बन्ध अझ मजबुत बनाउने उल्लेख गर्दै उनले निजी क्षेत्रका अस्पताल, होटल र अन्य व्यापारका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतासमेत भएको जानकारी दिइन् । उनले बिमस्टेक सम्मेलनमा नेपाललाई औपचारिक स्वागतसमेत गरिन् ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपाल र थाइल्याण्डबीच कृषि, व्यापार, पर्यटन र संस्कृतिको गहिरो सम्बन्ध रहेको बताए। थाइल्याण्डका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दै उनले व्यापार तथा पर्यटन प्रवद्र्धनमा थप सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

ओलीले नेपाल–थाइल्याण्डबीचको सिधा हवाई उडानप्रति खुसी व्यक्त गर्दै जलवायु परिवर्तन जस्ता विश्वव्यापी मुद्दाहरूमा दुवै देश मिलेर काम गर्नुपर्ने धारणा राखे । प्रधानमन्त्री ओली चैत्र १९ देखि २३ गतेसम्मको औपचारिक भ्रमणका क्रममा हाल थाइल्याण्डमा छन्।



प्रतिक्रिया दिनुहोस !