२६ चैत्र २०८१, बुधबार

बिमस्टेक राष्ट्रहरूमा आकस्मिक घटनामा काम गर्न विशेष संरचना बनाउन आवश्यक छः परराष्ट्रमन्त्री राणा

प्रकाशित मिति :  2 April, 2025 5:44 pm


काठमाडाैँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बिमस्टेक राष्ट्रहरुमा आकस्मिक घटनामा काम गर्न विशेष संरचना बनाउन आवश्यक रहेको बताएकी छन् ।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित छैठौँ बिमस्टेक समिटको पूर्वसन्ध्यामा आज इण्डिया फाउन्डेसनद्वारा आयोजित तेस्रो बिमस्टेक डायलगलाई सम्बोधन गर्दै उनले दक्षिण एशिया क्षेत्रमा बढिरहेको जोखिमलाई हेरेर आकस्मिक घटनामा तत्काल काम गर्नसक्ने विशेष संरचना बनाउन आवश्यक रहेको बताएकी हुन् ।

गत मनसुनमा नेपाल—भारतमा आएको बाढी, पहिरो, केही दिनअघि म्यानमार र थाइल्याण्डमा आएको भूकम्प, बंगलादेशमा आएको बाढी जस्ता धेरै विपद् र आकस्मिक घटनामा संयुक्त पहल गर्नसके जोखिम र क्षति कम गर्न सकिने बताइन् । संयुक्त प्रयासले आपसी भाइचारा र सहयोगको बाटो औपचारिक रुपमा खुल्ने बताइन् ।

उनले बिमस्टेक जनताका आशा, अपेक्षा र समस्यामा काम गर्नसक्ने एक जीवन्त क्षेत्रीय संगठनका रुपमा रहनुपर्नेमा जोड दिइन् । अहिलेका कुनैपनि क्षेत्रीय र विश्व संस्थाहरुले आफ्ना समस्याहरुको पहिचान गरी तिनको समाधानका लागि सामुहिक प्रयास गर्न सक्नुपर्ने उल्लेख गरिन् । मन्त्री डा.राणाले आफूले बिमस्टेकलाई एक बलियो साझेदारी मञ्चका रूपमा रूपान्तरण गर्नसक्ने आधारहरु देखेको र यसका लगि सबैभन्दा पहिला क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावना हुनुपर्नेमा जोड दिइन् ।

क्षेत्रीय शान्ति र एकताका लागि बिमस्टेकको प्रमुख भुमिकालाई नेपालले सदा स्वीकार गरेको बताउँदै यस क्षेत्रको सामूहिक समृद्धिका लागि बिमस्टेकको सिद्धान्त र उद्देश्यप्रति नेपाल प्रतिवद्ध रहेको बताइन् । मन्त्री डा राणाले बंगालको खाडी क्षेत्र र त्यसभन्दा बाहिर समेतको क्षेत्रीय शान्ति, एकता र वातावरणीय दिगोपना प्रवद्र्धनमा बिमस्टेकको भुमिका खेलेको बताइन् । उनले सदस्य राष्ट्रहरूबिचको सामूहिक सहकार्य र जनता–जनताबीचको सम्पर्कका माध्यमबाट संस्कृति र पर्यटनको प्रवद्र्धन, गरिबी निवारण, जलवायुजन्य जटिलताको समाधानका लागि बिमस्टेक राष्ट्रहरूबीच अर्थपूर्ण सहकार्य हुनुपर्ने पक्षमा नेपाल रहेको पनि स्पष्ट पारिन् ।



प्रतिक्रिया दिनुहोस !