संघीय संसदका विभिन्न समितिहरूको बैठक आज सिंहदरबारमा बस्दै

काठमाडौँ । संघीय संसद सचिवालयका अनुसार आज संघीय संसदका विभिन्न समितिहरूको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्ने भएका छन् । बैठकहरू बिहान ११ः०० बजे देखि ११ः३० बजेका लागि बोलाइएका छन् ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा गैरसरकारी संघसंस्था, नागरिक समाज लगायतसँग छलफल हुने भएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल गरिनेछ ।
त्यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा सामाजिक परिचालिकाहरूको व्यवस्थापनसम्बन्धी छलफल हुनेछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीति सम्बन्धी आवश्यक सुझाव संकलन गरिनेछ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदामा दफावार छलफल गरिने संसद सचिवालयले जनाएको छ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन (विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार) सम्बन्धमा छलफल हुने बताइएको छ ।
सिंहदरबारस्थित समितिहरूको बैठकमा सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरू, विज्ञहरू तथा सरोकारवाला निकायहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।