२५ चैत्र २०८१, मंगलबार

नेपाल स्काउट शुद्धीकरण अभियानको आन्दोलन स्थगित, निर्देशक भट्टराईमाथि छानविन प्रक्रिया अघि बढ्ने

प्रकाशित मिति :  3 April, 2025 8:58 am


काठमाडौं । नेपाल स्काउटमा देखिएको अनियमितता, अपारदर्शिता तथा अराजक गतिविधिविरुद्ध गठन भएको नेपाल स्काउट शुद्धीकरण अभियानले आफ्नो आन्दोलन स्थगित गरेको छ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको पहलमा नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईमाथि छानविन प्रक्रिया अघि बढाइएपछि अभियानले आमरण अनशन समेत स्थगित गरेको हो।

मन्त्री चौधरीको उपस्थितिमा भएको सहमतिपछि अनशनरत अभियानकर्मी देवदुत अधिकारी र पवन गुरुङले जुस पिउँदै अनशन तोडेका छन्। नेपाल स्काउटका निर्देशक भट्टराईमाथि छानविनको माग राख्दै अभियानले चैत्र १ गतेदेखि रिले अनशन सुरु गरेको थियो भने चैत्र १३ गतेदेखि आमरण अनशन थालेको थियो। यसअघि, फागुन ६ गते अभियानले युवा तथा खेलकुद मन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाउँदै भट्टराईमाथि छानविनको माग गरेको थियो।

नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय र शुद्धीकरण अभियानबीच चैत्र १७ गते भएको सहमतिअनुसार निर्देशक भट्टराईमाथि छानविन गर्न मन्त्रालयका सहसचिव सुवाशचन्द्र शिवाकोटीको संयोजकत्वमा बार्ता समिति गठन गरिएको छ। समितिमा मन्त्रालयका उपसचिव रमा भट्टराई, नेपाल स्काउटका प्रतिनिधि तरुण रञ्जन दत्त, विदुर गिरी र आशिक कार्की सदस्य रहेका छन्।

समितिले छानविन प्रक्रिया सम्पन्न हुने अवधिसम्मका लागि निर्देशक भट्टराईलाई जिम्मेवारीबाट अलग गर्ने निर्णय गरेको छ। साथै, नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयकै वरिष्ठ कर्मचारीलाई कार्यवाहक निर्देशकको जिम्मेवारी दिने सहमति पनि भएको छ।

गत चैत्र १५ गते गठन भएको पाँच सदस्यीय छानविन समितिलाई विस्तारित गर्दै सात सदस्यीय बनाइएको छ। अब समितिमा नेपाल स्काउटका एक जना अधिकृत स्तरका प्रतिनिधि र शुद्धीकरण अभियानका तर्फबाट थप एक जना सदस्य समावेश गरिनेछ। यस अध्ययन समितिलाई छानविन तथा सिफारिस समितिका रूपमा रूपान्तरण गर्ने निर्णय गर्दै टिओआर तयार गरिएको छ।

शुद्धीकरण अभियानले चैत्र २१ गतेदेखि आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ। स्काउटको मूल मर्म पुनःस्थापित गर्दै नेपाल स्काउटलाई मर्यादित संस्था बनाउने उद्देश्यका साथ सबै सरोकारवालालाई सहयोगका लागि अपिल गरिएको छ।

निर्देशक भट्टराईमाथि आर्थिक अनियमितता तथा प्रशासनिक दुरुपयोगका गम्भीर आरोप लाग्दै आएका छन्। छानविन समितिले यी आरोपबारे निष्पक्ष अध्ययन गरी आवश्यक सिफारिस गर्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !