नेपालमा लगानीका लागि प्रधानमन्त्री ओलीको आह्वान

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डस्थित उद्योगी–व्यवसायीसँग छलफल गर्दै नेपालमा लगानीका लागि आह्वान गरेका छन् ।
बिहीबार बिहान बैंककमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–थाइल्याण्ड सम्बन्ध ऐतिहासिक रुपमा सौहार्दपूर्ण रहेको बताउँदै दुई देशबीचको आर्थिक सहकार्य विस्तार गर्न सकिने उल्लेख गरे ।
नेपाल र थाइल्याण्ड कहिल्यै उपनिवेश नबनेका स्वतन्त्र राष्ट्रहरू हुन्, जसले समान गरिबीबाट माथि उठ्न संघर्ष गरिरहेका छन् तर पछिल्लो दशकमा थाइल्याण्डले प्रविधि, समृद्धि र गरिबी निवारणका क्षेत्रमा हासिल गरेको सफलता नेपालका लागि प्रेरणादायी भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
लगानीमैत्री वातावरण
नेपालमा लगानीका लागि हाल अनुकूल वातावरण निर्माण भइसकेको र सरकार निजी क्षेत्रलाई सहज वातावरण दिन प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । “लगानी सुरक्षाका लागि सरकार हदैसम्म लचिलो भएको छ। आवश्यक कानूनी सुधार गरिसकिएको छ,” उनले भने ।
थाइल्याण्डका व्यवसायीहरूले नेपालमा विशेष गरी शिक्षा, स्वास्थ्य, प्रविधि र कृषि क्षेत्रमा लगानी गर्न चाहेको बताइएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार थाई लगानीकर्ताहरूले नेपालमा सम्भाव्यता अध्ययन गरिरहेका छन् ।
पर्यटनमा सहकार्यको सम्भावना
नेपाल–थाइल्याण्ड सम्बन्ध पर्यटनका हिसाबले निकै मजबुत रहेको छ। थाइल्याण्ड बौद्धमार्गी देश भएकाले त्यहाँका नागरिकहरू बुद्ध जन्मिएको लुम्बिनी भ्रमण गर्न चाहन्छन् । यसले पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने प्रधानमन्त्री ओलीको भनाइ छ ।
सरकारले लगानीमैत्री नीति अपनाएको र उद्योगी–व्यवसायीको निरन्तरको प्रयासले नेपालमा विदेशी लगानी आकर्षित हुने विश्वास गरिएको छ ।
थाई व्यवसायीहरूले नेपालको कृषि तथा प्रविधि क्षेत्रमा विशेष चासो देखाएको र आगामी दिनमा सहकार्यका सम्भावनाहरू खुल्दै जाने अपेक्षा गरिएको छ।