२५ चैत्र २०८१, मंगलबार

अवराेधका बीच काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको पुनः हाजिरी

प्रकाशित मिति :  3 April, 2025 2:48 pm


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले लामो विवादपछि कार्यालय पुगेर औपचारिक रूपमा हाजिर गरेका छन् ।

उपप्रमुख सुनिता डंगोल तथा महानगरका कर्मचारीहरूको पहलमा उनले आफ्नो कार्यकक्षमा प्रवेश गरेका हुन् । साढे तीन महिनासम्म प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त हुँदा महानगरका कर्मचारीहरू तलब नपाउने अवस्थामा पुगेका थिए ।

यसअघि गुरागाईं कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरी र कर्मचारीबीच तनाव उत्पन्न भएको थियो । प्रमुख बालेन्द्र साहको निर्देशनमा उनको कार्यकक्षमा ताला लगाइएको थियो, जसका कारण प्रशासनिक गतिविधि प्रभावित भएका थिए ।

यसअघि कार्यालय प्रवेशमा अवरोध भएपछि कर्मचारी र जनप्रतिनिधिहरूले गुरागाईंलाई घेराउ गर्दै कार्यकक्षतर्फ लगेका थिए । अन्ततः, उनीहरूकै पहलमा कार्यकक्षमा लगाइएको ताला फोडेर गुरागाईंलाई हाजिर गराइएको हो ।

गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राख्ने निर्णय गर्दै महानगर प्रमुख बालेन्द्र साहले प्रशासनिक तहमा कडाइ गरेका थिए तर कर्मचारीहरू लामो समय तलब नपाएपछि उनीहरूले स्वस्फूर्त रूपमा गुरागाईंलाई कार्यालय प्रवेश गराएर प्रशासनिक कार्यलाई सुचारु गराउने कदम चालेका छन् ।

यस घटनाले काठमाडौँ महानगरपालिकाभित्रको प्रशासनिक द्वन्द्वलाई पुनः सतहमा ल्याएको छ । अब गुरागाईंको सक्रियताले प्रशासनिक गतिरोध अन्त्य हुने वा नयाँ विवाद सिर्जना गर्ने भन्ने चासो उत्पन्न भएको छ ।



प्रतिक्रिया दिनुहोस !