२६ चैत्र २०८१, बुधबार

साना देशहरुमाथि जोखिम बढ्दैछ, सबै सजग बनौँ- प्रधानमन्त्री ओली

प्रकाशित मिति :  3 April, 2025 4:00 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना राष्ट्रहरूमाथि विभिन्न प्रकारका जोखिमहरू तीव्र रूपमा बढ्दै गएको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् ।

मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमणको क्रममा एशिया इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT) मा प्रवचन दिँदै उनले जलवायु परिवर्तन, हतियारको होडबाजी, तथा अन्तर्राष्ट्रिय असमानताले साना राष्ट्रहरूको अस्तित्व नै खतरामा पारिरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको दुष्प्रभाव साना राष्ट्रहरूको लागि विशेष रूपमा घातक रहेको उल्लेख गर्दै, यदि विश्व समुदायले अहिले नै ठोस कदम नचाले लाखौँ नागरिक गरिबी र विपत्तिमा धकेलिने चेतावनी दिए ।

उनले भने, “साना राष्ट्रहरूको पीडा सुन्ने कोही छैन। जलवायु संकटबारे तत्काल कदम चालिएन भने हाम्रो भविष्य अझै अन्धकारमय हुनेछ ।”

ओलीले विश्वव्यापी रूपमा बढिरहेको हतियारको उत्पादन र प्रयोगले मानवता नै संकटमा परेको बताउँदै, “शान्ति र भ्रातृत्वको लागि सबै देशहरूले एकजुट भएर प्रतिवाद गर्नुपर्छ,” भन्ने धारणा राखे ।

उनका अनुसार, साना र विकासशील राष्ट्रहरू युद्ध, अशान्ति, तथा प्राकृतिक संकटबाट सबैभन्दा बढी प्रभावित भइरहेका छन्, तर अन्तर्राष्ट्रिय मञ्चमा उनीहरूको आवाज सुनिँदैन ।

प्रधानमन्त्री ओलीले नेपालले अघि सारेको गरिबी निवारण तथा समृद्धि कार्यक्रम केवल नेपालका लागि मात्र नभई, सम्पूर्ण विश्वका लागि शान्ति र समृद्धि सुनिश्चित गर्ने अवधारणा भएको बताए ।

“हामी सबैको साझा दायित्व हो-विकासलाई समावेशी बनाउने, जलवायु न्याय स्थापित गर्ने, र विश्वभरिका साना राष्ट्रहरूको हकअधिकार सुरक्षित गर्ने,” उनले भने ।

नेपाल र AIT बीचको सम्बन्ध अझै प्रगाढ
एशिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा नेपाली विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको छ। हाल AIT मा १८१ जना नेपाली विद्यार्थी अध्ययनरत छन्, र यस संस्थाबाट हालसम्म १,७०० भन्दा बढी नेपालीले अध्ययन पूरा गरिसकेका छन्। नेपाल यस विश्वविद्यालयको बोर्ड अफ ट्रस्टी समेत रहेको छ र विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न नेपाल सरकारले एक लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ।

प्रधानमन्त्री ओलीको प्रवचनले जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय असमानता, र साना राष्ट्रहरूको भविष्य जस्ता मुद्दाहरूमा विश्वव्यापी बहसलाई थप उर्जा दिने विश्वास गरिएको छ।



प्रतिक्रिया दिनुहोस !