२७ चैत्र २०८१, बिहिबार

बिमस्टेकको छैटौँ शिखर सम्मेलन थाइल्याण्डमा सुरु

प्रकाशित मिति :  4 April, 2025 1:16 pm


बैङ्कक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलन आज थाइल्याण्डको बैङ्ककमा औपचारिक रूपमा सुरु भएको छ ।

बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरूको सामूहिक फोटोसेसन र कार्यसूची प्रस्तुत गरेसँगै सम्मेलनको औपचारिक उद्घाटन भएको हो ।

आयोजक मुलुक थाइल्याण्डका प्रधानमन्त्री पे थोङ थान शिनावातले सदस्य राष्ट्रका प्रतिनिधिमण्डल प्रमुखहरूलाई स्वागत गरेका हुन् ।

शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित बिमस्टेक सदस्य मुलुकहरू – बङ्गलादेश, भूटान, भारत, म्यान्मार, श्रीलङ्का र आयोजक थाइल्याण्डका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

सम्मेलनको महत्त्वपूर्ण कार्यसूचीअनुसार ‘बिमस्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने छ। यस सम्झौताले क्षेत्रीय व्यापार, यातायात, तथा आर्थिक सहकार्यलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

शिखर सम्मेलनले बिमस्टेक क्षेत्रीय सहयोगका प्राथमिकताहरू पुनरावलोकन गर्ने, आगामी रणनीतिक योजनाहरू तय गर्ने तथा सदस्य राष्ट्रहरूबीचको आपसी साझेदारीलाई थप सुदृढ गर्ने लक्ष्य लिएको छ।



प्रतिक्रिया दिनुहोस !