नेपाल–थाइल्याण्ड संयुक्त वाणिज्य परिषद् गठनका लागि समझदारी

बैङ्कक । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र थाइ चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच संयुक्त वाणिज्य परिषद् गठन गर्ने समझदारी भएको छ ।
थाइल्याण्डको राजधानी बैङ्कक भ्रमणमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीले थाइ चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडसँग द्विपक्षीय वार्ता गर्दै उक्त समझदारी गरेको हो ।
वाणिज्य परिषद्ले नेपाल र थाइल्याण्डबीचको व्यापारिक साझेदारी सुदृढ गर्ने, लगानी प्रवद्र्धन गर्ने तथा उद्योग र व्यापार क्षेत्रलाई सहज बनाउने लक्ष्य राखेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण सहज हुँदै गएको अवस्थामा सम्भावित क्षेत्र पहिचान गर्न वाणिज्य परिषद्ले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
उनका अनुसार पर्यटन, सेवा क्षेत्र, खाद्य वस्तु प्रशोधन, प्याकेजिङ तथा निर्माण सामग्री उत्पादनमा थाइ व्यवसायीहरूले चासो देखाएका छन् ।
नेपाली उद्यमीलाई अनअराइभल भिसाको माग
वार्ताका क्रममा नेपाली उद्योगीहरूका लागि अनअराइभल भिसा उपलब्ध गराउन थाइ चेम्बर अफ कमर्ससँग अनुरोध गरिएको छ । अध्यक्ष ढकालका अनुसार थाइ पक्षले यो विषयमा पहल गर्ने प्रतिबद्धता जनाएको छ।
उनले भने, “हामीले थाइ व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छौँ । नेपालमा पुराना कानुनी व्यवस्थाहरू परिवर्तन भइसकेका छन्, विदेशी लगानीलाई सरकारले प्राथमिकता दिइरहेको छ । त्यसैले नेपालमा लगानीका लागि अनुकूल वातावरण छ ।”
थाइ व्यवसायीहरूले नेपालमा राजनीतिक स्थिरता नभएको विषयमा चिन्ता व्यक्त गरेका छन् । यसबारे स्पष्ट पार्दै अध्यक्ष ढकालले नेपालमा आर्थिक नीति स्थिर रहेको र वैदेशिक लगानी प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध भएकाले लगानीलाई कुनै बाधा नपर्ने बताएका छन् ।
बिमस्टेक चेम्बर गठनमा छलफल
नेपाल उद्योग वाणिज्य महासंघले बिमस्टेक सदस्य राष्ट्रहरूबीच व्यापार तथा लगानी प्रवद्र्धन गर्न ‘बिमस्टेक चेम्बर’ गठन गर्ने प्रक्रियामा छलफल अघि बढाएको जानकारी पनि अध्यक्ष ढकालले दिए ।
नेपाल र थाइल्याण्डबीचको व्यापारिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित दुवै मुलुकका उद्योगी तथा व्यवसायीबीच सहकार्य थप विस्तार हुने अपेक्षा गरिएको छ ।