१ बैशाख २०८२, सोमबार

राजावादी प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको हाे-गृहमन्त्री लेखक

प्रकाशित मिति :  4 April, 2025 1:23 pm


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको दाबी गरेका छन् ।

शुक्रबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त प्रदर्शनबारे जानकारी दिँदै उनले संविधान उल्ट्याउने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई समाप्त पार्ने प्रयासस्वरूप अमर्यादित तथा हिंसात्मक गतिविधि गरिएको बताए ।

संविधान उल्ट्याउने योजनाको आरोप
गृहमन्त्री लेखकका अनुसार प्रदर्शन शान्तिपूर्ण आन्दोलनको रूपमा सुरु भए पनि निजी सम्पत्तिमाथि तोडफोड र आगजनीको घटना घटाइएको छ ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहको सार्वजनिक अभिव्यक्ति, फागुन २५ गतेको प्रदर्शन तथा राजावादी नेताहरूका अभिव्यक्तिहरू हेर्दा यो आन्दोलनको मुख्य उद्देश्य संविधान उल्ट्याउने रहेको स्पष्ट भएको बताए ।

उनले भने, “तीनकुनेमा भएको प्रदर्शन नेपालको संविधानलाई उल्ट्याउने तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई समाप्त पार्ने उद्देश्यबाट प्रेरित थियो । यदि यो केवल सरकारलाई खबरदारी गर्ने वा विचार व्यक्त गर्ने उद्देश्यले गरिएको हो भन्ने भ्रममा हामी पर्‍यौं भने यो गलत हुनेछ ।”

गृहमन्त्री लेखकका अनुसार फागुन ७ गतेदेखि राजावादी नेताहरूले दिएका अभिव्यक्तिहरू, फागुन २५ गतेको प्रदर्शन, तथा हालैका घटनाक्रमलाई विश्लेषण गर्दा उनीहरू संविधान उल्ट्याउने रणनीतिमा रहेको देखिएको छ ।

हिंसात्मक प्रदर्शनको आरोप
गृहमन्त्री लेखकले प्रदर्शनको नेतृत्वकर्ताहरूले नै भिडलाई हिंसात्मक गतिविधिमा उक्साएको आरोप लगाए । उनका अनुसार राजावादी समूहले शान्तिपूर्ण प्रदर्शनको नाममा हिंसात्मक गतिविधि गर्दै निजी सम्पत्तिमाथि क्षति पुर्‍याएको छ।

सरकारले हिंसात्मक गतिविधिलाई कानूनी प्रक्रियाबाट नियन्त्रण गर्ने प्रतिबद्धता जनाउँदै उनले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि आवश्यक सबै कदम चाल्ने स्पष्ट गरे ।



प्रतिक्रिया दिनुहोस !