राप्ती आधारभूत अस्पताल सिसहनियामा विशेषज्ञ स्वास्थ्य सेवा सुरु

तुलबहादुर कवँर मगर,
देउखुरी । दाङको राप्ती गाउँपालिका–५ स्थित राप्ती आधारभूत अस्पताल, कालापानीमा हाडजोर्नी, नसा तथा बाथरोग सम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा आएको छ।
शुक्रबारदेखि बुटवलका विभिन्न अस्पतालमा कार्यरत हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा. राज कृष्ण श्रेष्ठले सेवा दिन थालेका हुन् । अस्पताल प्रशासनका अनुसार उनले अबदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार नियमित रूपमा सेवा प्रदान गर्नेछन् ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विशेषज्ञ स्वास्थ्य सेवाबाट स्थानीयवासीले ठूलो राहत पाउने विश्वास व्यक्त गरे । उनका अनुसार आगामी महिनादेखि हरेक हप्तामा विभिन्न विशेषज्ञ डाक्टरमार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी भइरहेको छ।
“यस क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा नहुँदा बिरामीहरूलाई बाहिरी जिल्लासम्म जानुपर्ने बाध्यता थियो,” अध्यक्ष विष्टले भने, “अब गाउँमै यस्ता सेवा पाउने भएपछि सर्वसाधारणको समय र खर्च दुबैको बचत हुनेछ।”
विशेषज्ञ सेवा उपलब्ध गराउन सुरु भएपछि राप्ती आधारभूत अस्पतालमा बिरामीहरूको चाप बढ्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले गुणस्तरीय स्वास्थ्य सेवा गाउँमै पाउने भएकाले अस्पतालको सेवा विस्तारलाई सकारात्मक रूपमा लिएको जनाइएको छ ।