राष्ट्रसेवकलाई सरकारले हतोत्साहित र अपमानित गर्यो-कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले राज्यले इमान्दार राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित र अपमानित गरेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले आफूलाई सरकारले अपमान गरेर हटाएको गम्भीर आरोप लगाए । उनले राष्ट्रसेवामा समर्पित कर्मचारीलाई राज्यको सम्पूर्ण शक्ति प्रयोग गरी दबाउने प्रयास भएको दाबी गरे ।
सरकारको रवैयाप्रति असन्तुष्टि
पूर्वनिर्देशक घिसिङले आफूले कानुनी दायराभित्र रही काम गर्दा समेत सरकारका जिम्मेवार व्यक्तिहरूले अपमान गरेको उल्लेख गरे । संसदको रोष्टम दुरुपयोग गर्दै आफूलाई आरोप लगाइएको भन्दै उनले त्यसप्रति आपत्ति जनाए ।
“नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने उद्देश्यले कार्यरत राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित गर्न खोजियो । कतिपय व्यक्ति वा समूहले आफूलाई सफल ठाने होलान्, तर जनताको स्नेह र आशीर्वादले मलाई हार्न दिएको छैन । म कार्यकारी निर्देशकबाट बिदा भएको हुँ तर मेरो कर्तव्य कहिल्यै सकिँदैन,” उनले भने ।
उनका अनुसार आफू पदमा रहँदा गरेका निर्णयहरू राष्ट्रहितमा थिए, जसले कुनै पछुतो गर्ने ठाउँ नरहेको स्पष्ट पारे ।
प्राधिकरणलाई नाफामा लैजाने प्रमुख उपलब्धि
पूर्वनिर्देशक घिसिङले आफ्नो कार्यकालमा निरन्तर घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई नाफामा लैजान सफल भएको दाबी गरे ।
“मेरो नेतृत्वमा प्राधिकरणले ऐतिहासिक नाफा कमायो, अर्बौं रुपैयाँ मुनाफामा गयो । तीन गुणाले सम्पत्ति वृद्धि गरियो, आर्थिक र प्राविधिक रूपमा संस्थालाई आत्मनिर्भर बनाइयो । सरकारले बजेट नै नदिएको अवस्थामा पनि प्राधिकरणले आफ्नै स्रोतबाट विद्युतीकरणका काम अघि बढायो,” उनले भने ।
उनका अनुसार, सुकुम्बासी बस्ती, चेपाङ, मुसहर जस्ता विपन्न वर्गका घरपरिवारमा निःशुल्क मिटर वितरण गर्दै विद्युत् पहुँच विस्तार गरियो ।
“गाउँ बस्ती मात्र होइन, स्थानीय निकायहरूसँगको साझेदारीमा स्मार्ट सडक बत्ती जडान गरी सहर उज्यालो बनाउने कार्यमा समेत प्राधिकरणले ठूलो लगानी गर्यो,” उनले थपे ।
कुलमान घिसिङले आफ्नो नेतृत्वमा लोडसेडिङ अन्त्य गरी प्राधिकरणलाई आत्मनिर्भर बनाउन सफल भएको बताए। “माथि राजनीतिक दबाब आए पनि, मेरो निर्णयहरू नतिजामुखी थिए। लोडसेडिङ अन्त्य गर्ने, संस्थालाई आर्थिक रूपमा सबल बनाउने, जनतालाई भरपर्दो सेवा दिने जस्ता कामहरू सफलता प्राप्त गर्नसक्नु मेरो सबैभन्दा ठूलो सन्तोषको कुरा हो,” उनले भने ।
उनले आफू सदैव राष्ट्रसेवामा योगदान दिन तयार रहेको बताए । “राष्ट्र निर्माणमा जहाँ आवश्यक पर्छ, म त्यहाँ योगदान दिन तयार छु। मलाई कमजोर बनाउन भविष्यमा पनि प्रहार हुन सक्छ तर म सजग र सर्तक छु,” उनले चेतावनी दिए।
पूर्वनिर्देशक घिसिङले आफ्नो नेतृत्वको प्रभावकारीता, पारदर्शिता र दूरदृष्टि नै सफलता प्राप्त गर्ने आधार रहेको बताए । “जनताको जीवनस्तर उकास्ने काम अन्य संस्थाहरूले पनि गर्न आवश्यक छ। तर, यदि मन्त्री वा संस्थाको नेतृत्व गलत नियतले चलाइयो भने संस्था क्षणभरमै धराशायी हुनसक्छ,” उनले चेतावनी दिए । उनले सबै सचेत नागरिकहरूलाई संस्थागत सुधारका लागि खबरदारी गर्न आग्रह गरे।