३० चैत्र २०८१, आइतबार

बिमस्टेक शिखर सम्मेलनपछि ओली–मोदी भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई उच्च प्राथमिकता

प्रकाशित मिति :  4 April, 2025 8:38 pm


काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार थाइल्यान्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा भेटवार्ता भएको छ ।

बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास) को छैटौँ शिखर सम्मेलनपछि पूर्वनिर्धारित तालिकाअनुसार भएको यो भेटवार्तालाई दुवै नेताले “सार्थक, सकारात्मक र सौहार्दपूर्ण” रहेको प्रतिक्रिया दिएका छन् ।

ओली–मोदी वार्ता : आत्मीय र सौहार्दपूर्ण
भेटवार्तापछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत् भेट आत्मिय र सौहार्दपूर्ण रहेको धारणा व्यक्त गरेका छन् । “मेरा प्रिय मित्र, प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो । हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो । यस आत्मीय भेटवार्ताप्रति म खुसी व्यक्त गर्दछु”, प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भने ।

प्रधानमन्त्री ओलीले यस भेटवार्ताले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । नेपाल र भारतबीच लामो समयदेखि रहिआएको सांस्कृतिक, ऐतिहासिक, आर्थिक, तथा राजनीतिक सम्बन्धलाई अझ बलियो बनाउन दुवै देशको नेतृत्व दृढ रहेको संकेत ओलीको भनाइले दिएको छ ।

नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको मोदीको भनाइ
भारतका प्रधानमन्त्री मोदीले पनि भेटपछि सामाजिक सञ्जाल एक्समा लेख्दै नेपाल–भारत सम्बन्धलाई उच्च प्राथमिकता दिइएको प्रस्ट पारे । उनले भने, “बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो । भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको छ ।”

मोदीले नेपाल र भारतबीचको ऊर्जा, कनेक्टिभिटी, संस्कृति, तथा डिजिटल प्रविधि जस्ता महत्वपूर्ण क्षेत्रमा भएका सहकार्यका विषयमा छलफल भएको जानकारी दिएका छन् । उनले आफ्नो ट्वीटमा थपेका छन्, “हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति, र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल ग¥यौं ।”

बिमस्टेक शिखर सम्मेलनका उपलब्धि र क्षेत्रीय सहयोग
बिमस्टेक शिखर सम्मेलनपछि सम्पन्न भएको यो उच्चस्तरीय भेटवार्ताले नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ । मोदीका अनुसार, “हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू, विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि छलफल ग¥यौं ।”

दुवै देशका नेताहरूले क्षेत्रीय सहकार्यलाई प्रवद्र्धन गर्ने, व्यापार तथा लगानीका अवसरहरू विस्तार गर्ने र आपसी समझदारीलाई अझै मजबुत बनाउने विषयमा छलफल गरेका छन् । यसअघि गत असोज ७ गते न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा पनि प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको थियो । त्यस अवसरमा पनि नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

नेपाल र भारतबीचको खुला सिमाना, गहिरो सांस्कृतिक सम्बन्ध, तथा परस्पर आर्थिक निर्भरता रहेका कारण यी दुई मुलुकका प्रधानमन्त्रीहरूबीच समयसमयमा हुने उच्चस्तरीय भेटवार्ताले महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।

प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच भएको भेटवार्ताले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन मद्दत गर्ने विश्वास गरिएको छ । क्षेत्रीय सहकार्य, पूर्वाधार विकास र व्यापारिक सम्बन्ध विस्तार गर्न दुबै देशका नेताहरू प्रतिवद्ध रहेको सन्देश यो भेटवार्ताबाट स्पष्ट देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !