२७ चैत्र २०८१, बिहिबार

रवि लामिछानेलाई भैरहवा ल्याइदै : पक्राउपछि रास्वपा आक्रोशित, पुनरावेदन गर्ने

प्रकाशित मिति :  5 April, 2025 7:18 am


दाङ । सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले आज (शनिबार) बिहान भैरहवा ल्याइदै छ।

उच्च अदालत तुलसीपुरबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेशपछि शुक्रबार राति बुढानीलकण्ठस्थित निवासबाट पक्राउ गरिएका लामिछानेलाई विमानमार्फत् भैरहवा ल्याउन लागिएकाे हो ।

यसरी पक्राउ परे लामिछाने

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारीको रकम ठगी गरेको अभियोगमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीद्वारा जारी आदेशपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेकाे थियो ।

त्यसको केही समयमै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी सुधीरराज शाही र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टको नेतृत्वमा प्रहरी टोली बुढानीलकण्ठस्थित लामिछानेको निवासमा पुग्यो । लामिछानेले सामाजिक सञ्जालमार्फत् आफू अहिल्यै गिरफ्तारी दिन तयार रहेको बताएलगत्तै प्रहरी टोलीले उनलाई घरभित्रै पसेर नियन्त्रणमा लिएकाे थियो ।

पार्टी सचिवालयको आपतकालीन बैठक, पुनरावेदनको निर्णय
रास्वपाले शुक्रबार राति नै भर्चुअल माध्यमबाट आपतकालीन सचिवालय बैठक बसेकाे छ । बैठकले उच्च अदालतको निर्णयप्रति सम्मान प्रकट गर्दै कानुनी प्रक्रियाअन्तर्गत पुनरावेदन गर्ने निर्णय गरेको छ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “उच्च अदालत तुलसीपुर बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेज्यूको सम्बन्धमा जुन निर्णय गरेको छ, त्यो निर्णयलाई कानुनको एक तहको निर्णयको रूपमा बुझ्दै, सभापतिज्यूले भिडियो सन्देशमा भन्नुभएझैं अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरिएको छ।”

बैठकले सभापति लामिछानेलाई पूर्जीबिनै पक्राउ गरेर प्रहरीले घरको बेडरूमभित्र पसेर पूर्जी बनाएकोप्रति विशेष आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “विधिको शासनमा यो क्षम्य हुन नसक्ने व्यवहार हो। नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने कार्य गैरसंवेदनशील र गैरकानुनी हो, जसको पार्टीले कडा भर्त्सना गर्दछ ।” पार्टीका अनुसार यस्तो कार्यप्रणालीले लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर चोट पुर्‍याउने खतरा रहेको छ।

जनयात्रा सभा यथासम्भव भव्य तर संयमित ढंगले
रास्वपाले आज चितवनको भरतपुरमा आयोजना गर्न लागेको ‘जनयात्रा शुभारम्भ सभा’ पूर्वनिर्धारित कार्यक्रमअनुसार यथासम्भव भव्य बनाउने निर्णय पनि बैठकले गरेको छ।

सभापति लामिछानेको निर्देशन उद्धृत गर्दै पार्टीले भनेको छ, “राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन। हामीले गर्ने सभा शान्त र सौम्य हुनुपर्छ ।”

सम्भावित घुसपैठ, चलखेल वा विथोल्ने गतिविधि हुनसक्ने आँकलन गर्दै सबै कार्यकर्तालाई संयमित, सजग र गम्भीर रहन निर्देशन दिइएको छ ।

सभापति लामिछानेले गिरफ्तारीपूर्व सार्वजनिक भिडियोमार्फत भनेका थिए, “म अदालतको सम्मान गर्छु। म अहिले नै गिरफ्तार हुन तयार छु ।”



प्रतिक्रिया दिनुहोस !