९ बैशाख २०८२, मंगलबार

रवि लामिछाने भैरहवा ल्याइए : जिल्ला प्रहरी रुपन्देहीकाे हिरासतमा

लामिछानेलाई शनिबार र आइतबार जिल्ला प्रहरीमा राखेर सोमबार प्रक्रिया पूरा गरी कारागार पठाइने
प्रकाशित मिति :  5 April, 2025 9:48 am


दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज बिहान भैरहवा ल्याइएको छ । हिजाे राति काठमाडौँको बूढानीलकण्ठस्थित उनकै निवासबाट पक्राउ परेका लामिछानेलाई यती एयरलाइन्सको विमानमार्फत् भैरहवा ल्याइएको हो। उनलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा राखिएको छ।

संगठित रूपमा सहकारी ठगी गरेको आरोपमा तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो । सोही आदेश कार्यान्वयन गर्न प्रहरीले राति नै उनलाई नियन्त्रणमा लिएको हो ।

यसअघि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड रुपैयाँ धरौटीमा छाड्ने निर्णय गरेको थियो तर उच्च अदालतले उक्त आदेश उल्ट्याउँदै थुनामा राख्न निर्देशन दिएको छ।

पक्राउ प्रक्रियाप्रति रास्वपाका नेता-कार्यकर्ताले तीव्र असन्तुष्टि जनाएका छन् । पक्राउपूर्व आदेशको सूचना नदिइएको र पक्राउ पूर्जीसमेत देखाइएको नभएको भन्दै उनीहरूले प्रहरीको आलोचना गरेका छन् ।

प्रहरी स्रोतका अनुसार लामिछानेलाई शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालयमा राखिनेछ । सोमबार कार्यालय खुलेपछि आवश्यक प्रक्रिया पूरा गरेर कारागार चलान गरिने बताइएको छ।

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेमाथि विभिन्न जिल्लामा अनुसन्धान जारी छ। बुटवलको सुप्रिम सहकारीबाट रकम अपचलन गरेको अभियोगमा उनीमाथि मुद्दा चलाइएको हो ।

यसअघि कास्की, चितवन र पर्सालगायत जिल्लामा पनि उनलाई बयानका लागि लगिएको थियो। उच्च अदालतको पछिल्लो आदेशले यो प्रकरणमा थप बहस र विवाद सिर्जना हुने देखिएको छ।



प्रतिक्रिया दिनुहोस !