पार्टी काममा फर्किएकाे पाँच दिनमै थुनामा रवि : यस्ता थिए पाँच दिनका पार्टी गतिविधि

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ । शुक्रबार राति काठमाडौंस्थित आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई यती एयरलाइन्सको विमानमार्फत् आज बिहान ९:१२ बजे गौतमबुद्ध विमानस्थल भैरहवा ल्याइएको हो ।
विमानस्थलबाट उनलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा लगिएको छ । आज र भोलि सार्वजनिक बिदा परेकाले उनलाई सोमबार मात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालत, रुपन्देहीको एक करोड धरौटीमा छाड्ने आदेश बदर गर्दै यो फैसला सुनाएको थियाे ।
रवि लामिछानेको पाँच दिनको पार्टी गतिविधि : उत्साहदेखि थुनासम्मको यात्रा
पहिलो दिन (चैत १८): पार्टीमा फर्काइ र आक्रोश
सहकारी ठगी प्रकरणमा ६ महिनाअघि पक्राउ परेका रवि लामिछाने चैत १८ गते तामझामसहित रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा फर्किए ।
८४ दिन थुनामा बिताएर धरौटीमा रिहा भएका उनले कार्यकर्तालाई सम्बोधन गर्दै आफू पक्राउ परेको बेला आन्दोलन नचर्किएकोमा असन्तुष्टि जनाए । कांग्रेस र एमालेलाई ‘नक्कली गणतन्त्रवादी’ को आरोप लगाउँदै उनले चर्चा बटुले ।
दोस्रो दिन (चैत १९): बैठकको नेतृत्व र संगठनको योजना
चैत १९ गते लामिछानेले पार्टी बैठकको नेतृत्व गरे । संगठनमा हेरफेरको योजना प्रस्तुत गर्दै उनले आगामी रणनीति बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । सोही दिन उनले संसद् बैठकमा सहभागी हुन निलम्बन फुकाउन सभामुख देवराज घिमिरेसँग आग्रह गरेको खबर पनि आयो ।
तेस्रो दिन (चैत २०): चितवन सभाको तयारी
चैत २० गते लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवनमा चैत २२ गते हुने सभाको तयारीमा जुटे । केही महत्त्वपूर्ण घोषणा गर्ने संकेत दिएका उनको सक्रियताले कार्यकर्तामा उत्साह थपिएको थियो ।
चौथो दिन (चैत २१): केन्द्रीय समिति बैठकको घोषणा
चैत २१ गते रास्वपाको सचिवालय बैठकले चैत २२ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गर्यो । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले पहिलो चरणमा कार्यवाहक सभापति डीपी अर्यालले धन्यवाद ज्ञापन गर्ने र दोस्रो चरणमा लामिछानेको सभापतित्वमा बैठक बस्ने बताए । लामिछानेले एजेन्डा आफैं प्रस्तुत गर्ने तयारी गरेका थिए ।
पाँचौँ दिन (चैत २२): अदालती झड्का र पक्राउ
पार्टी काममा फर्केको पाँचौँ दिनमा लामिछानेलाई ठूलो झड्का लाग्यो । उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो ।
हिजाे राति काठमाडौँको बूढानीलकण्ठस्थित घरबाट पक्राउ परेका उनलाई शनिबार बिहान भैरहवा ल्याइएकाे थिया । उच्च अदालतको आदेशले जिल्ला अदालतको धरौटी निर्णय खण्डन गर्दै कसुरको प्रकृति र पीडितको अवस्थालाई आधार मानेको छ।
रवि लामिछानेको पाँच दिने सक्रियता पार्टीमा जोश भर्ने प्रयासका रूपमा सुरु भएको थियो । बैठकको नेतृत्व, संगठन हेरफेरको योजना र चितवन सभाको तयारीले उनको उत्साह झल्काए पनि उच्च अदालतको आदेशले सबै योजना प्रभावित बनाएकाे छ ।