२८ चैत्र २०८१, शुक्रबार

वायु प्रदूषणले स्वास्थ्यमा गम्भीर असर, मुटु रोगी उच्च जोखिममा

प्रकाशित मिति :  5 April, 2025 1:12 pm


काठमाडौँ । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाको वायु प्रदूषण अत्यधिक बढ्दा जनस्वास्थ्यमा गम्भीर असर देखिन थालेको छ ।

वायु प्रदूषणसँग सम्बन्धित समस्या लिएर अस्पताल आउने बिरामीको चाप तीव्र रूपमा बढेको छ। छाती रोग विशेषज्ञ डा. अजित श्रेष्ठका अनुसार प्रदूषणको असर खासगरी श्वासप्रश्वास, छाती, आँखा, घाँटी, नाक, कान र छालामा प्रत्यक्ष देखिएको छ।

बिरामीको चापमा वृद्धि, आइसियुसम्म पुर्‍याउने अवस्था

छाती रोग विशेषज्ञ डा. अजित श्रेष्ठका अनुसार पछिल्ला दिनमा छाती तथा श्वासप्रश्वास सम्बन्धी गम्भीर समस्या भएका बिरामीहरू आइसियुसम्म पुग्ने गरेका छन्। “छातीको संक्रमण लिएर आएका बिरामीहरु धेरै छन्,” उनले भने, “केही बिरामीहरूलाई त आइसियुमा राख्नुपर्ने अवस्था आएको छ ।”

उनले वायु प्रदूषणको असरले हृदयघातको जोखिमसमेत उच्च बनाएको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरे । “वायु प्रदूषणले मुटुमा असर पार्छ, र अध्ययनहरुले देखाएका छन् कि यसले हृदयघातको सम्भावना पनि बढाउँछ,” उनले स्पष्ट पारे।

वृद्ध, बालबालिका, गर्भवती र दीर्घरोगी उच्च जोखिममा

डा. श्रेष्ठका अनुसार वायु प्रदूषणको जोखिम सबैभन्दा बढी वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला, सुत्केरी र दीर्घरोगीहरू (जस्तै मुटु, मिर्गौला, श्वासप्रश्वास रोगी) मा देखिएको छ । “यी समूहहरूमा वायु प्रदूषणको असर तुरुन्तै देखिन सक्छ, त्यसैले उनीहरूले विशेष सतर्कता अपनाउनु आवश्यक छ,” उनको भनाइ छ।

मर्निङ वाल्कबाट जोगिन डाक्टरको सुझाव

उनले अहिलेको अवस्थामा ‘मर्निङ वाल्क’ जस्ता गतिविधिहरू रोक्नुपर्ने सुझाव दिए । “व्यायाम गर्नुपर्छ भनेर बिहानको समयमा हिँड्दा झन् बढी रोग लाग्न सक्छ, त्यसैले घरमै हल्का व्यायाम गर्नु उपयुक्त हुन्छ,” उनले भने ।

सरकारलाई हस्तक्षेपको आग्रह

वायु प्रदूषणको स्तर खतराको सीमामा पुगेकाले सरकारले यसबारे तत्काल कदम चाल्नुपर्ने डा. श्रेष्ठको सुझाव छ । “सरकारले जनस्वास्थ्यप्रति जिम्मेवार बनेर स्वास्थ्य विशेषज्ञहरूसँग परामर्श गरी ठोस निर्णय लिनुपर्छ,” उनले भने ।

नियमित स्वास्थ्य परीक्षण र सावधानीको आग्रह

वायु प्रदूषण बढिरहेको अवस्थामा दीर्घरोगीहरूले नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने र औषधिको सेवन समयमै गर्नुपर्ने डा. श्रेष्ठको सुझाव छ । साथै, पोषिलो खाना खानु र बाहिर जानैपर्ने अवस्थामा मास्क अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ।

संयुक्त राष्ट्रसंघको वातावरणसम्बन्धी निकाय युएनईपीका अनुसार वायु प्रदूषणका कारण विश्वभरि हरेक वर्ष झण्डै ७० लाख मानिसको मृत्यु हुने गरेको छ । यद्यपि काठमाडौंमा वायु प्रदूषणकै कारण मृत्यु भएको तथ्य सार्वजनिक भएको छैन, तर अस्पतालमा उपचारको लागि आउने बिरामीहरूको चापले प्रदूषणको प्रत्यक्ष असर पुष्टि गर्छ।

डा‍‍. श्रेष्ठ अल्का अस्पतालमा कार्यरत छन्



प्रतिक्रिया दिनुहोस !