२९ चैत्र २०८१, शनिबार

प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमण सकेर स्वदेश फिर्ता

प्रकाशित मिति :  5 April, 2025 1:22 pm


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको पाँचदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन चैत १९ गते थाइल्याण्ड प्रस्थान गरेका थिए ।

थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न उक्त सम्मेलनलाई प्रधानमन्त्री ओलीले शुक्रबार सम्बोधन गरेका थिए । भ्रमणका क्रममा उनले थुप्रै देशका प्रधानमन्त्रीहरूसँग दुईपक्षीय भेटवार्ता पनि गरेका थिए ।

प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पेथोङथान शिनावात्रा, भूटानका प्रधानमन्त्री छिरिङ तोब्गे, म्यान्मारका प्रधानमन्त्री मिन आङ हलिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरासुरियासँग अलग–अलग भेटवार्ता गरेका थिए ।

भेटवार्तामा क्षेत्रीय सहकार्य, व्यापार विस्तार, पूर्वाधार विकास, ऊर्जा आदानप्रदान तथा आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ ।

बिम्स्टेक सदस्य राष्ट्रहरूमाझ आपसी समन्वय र सहयोग सुदृढ बनाउने उद्देश्यले प्रधानमन्त्री ओलीको यो भ्रमण महत्वपूर्ण मानिएको छ।

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार, उच्चस्तरीय सरकारी अधिकारी तथा नेपाली प्रतिनिधिमण्डल पनि भ्रमणमा सहभागी थियो ।



प्रतिक्रिया दिनुहोस !