२९ चैत्र २०८१, शनिबार

मथुरा देशकै पवित्र तीर्थस्थलका रूपमा विकसित हुन्छ- मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  5 April, 2025 2:05 pm


अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको सन्धिखर्क–५ मथुरालाई देशकै प्रमुख धार्मिक तीर्थस्थलका रूपमा विकास गरिने घोषणा गरेक छन् ।

मथुराको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्दै प्रदेश सरकारले गुरुयोजना बनाएर समग्र विकास गर्ने तयारी गरेको उनले स्पष्ट पारे ।

श्रीमद्देवीभागवत तथा शतचण्डी महायज्ञको अवसरमा गोपेश्वर पीठ र राधाकृष्ण मन्दिर परिसरमा आयोजित विशेष धार्मिक समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भने, “यो ठाउँको समृद्धि र विकासका निम्ति विभिन्न चरणमा प्रदेश सरकारको तर्फबाट निरन्तर सहयोग भइरहेको छ ।”

उनका अनुसार चालू आर्थिक वर्षमै मथुरा क्षेत्रको सडक स्तरोन्नति तथा खानेपानी समाधानका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । उनले भने, “यहाँ पानीको समस्या थियो, त्यसलाई समाधान गर्न खानेपानीको काम अघि बढाइएको छ। साथै, सडक स्तरोन्नतिको काम पनि चालु छ।”

मथुरालाई मात्र नभई सम्पूर्ण अर्घाखाँची र लुम्बिनी प्रदेशको गौरवको विषय बनाउँदै देशकै धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री आचार्यले यस क्षेत्रको ऐतिहासिक धरोहरको संरक्षणलाई पनि उच्च प्राथमिकतामा राखिएको जनाउँदै जंगबहादुरको जन्मस्थलका रूपमा चिनिने ऐतिहासिक पौवा क्षेत्रको संरक्षणमा सरकार लागिपरेको जानकारी दिए ।

“भक्तजनको श्रद्धा र चाहनाअनुसार धार्मिक स्थलहरूको विकास प्रदेश सरकारको प्राथमिकतामा पर्छ,” उनले भने, “आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न आवश्यक पूर्वाधार निर्माण, प्रचार–प्रसार र धार्मिक पर्यटकीय गतिविधिमा सरकार सक्रिय हुनेछ ।”

उनले भविष्यमा मथुराका लागि बृहत्तर गुरुयोजना तयार पारेर, समुचित संरचनागत विकास, वातावरणमैत्री पर्यटन पूर्वाधार तथा सेवासुविधासहितको समग्र धार्मिक गन्तव्यस्थल बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले समृद्ध सम्भावना बोकेको मथुरालाई राष्ट्रिय चिनारी दिने दिशामा लुम्बिनी प्रदेश सरकारको यो पहल ऐतिहासिक बन्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !