२७ चैत्र २०८१, बिहिबार

प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण : द्विपक्षीय सहकार्य र क्षेत्रीय साझेदारीमा नयाँ आयाम

प्रकाशित मिति :  5 April, 2025 3:35 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईले प्रधानमन्त्रीको तर्फबाट जारी प्रेस विज्ञप्ति वाचन गर्दै भ्रमणलाई सफल र फलदायी भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीको यो भ्रमण नेपालको तर्फबाट प्रधानमन्त्रीस्तरको पहिलो थाइल्याण्ड भ्रमण हो, जसले दुई देशबीचको परम्परागत मित्रता सुदृढ गर्नुका साथै आर्थिक, सामाजिक र क्षेत्रीय सहकार्यका नयाँ सम्भावनाहरूको ढोका खोल्ने अपेक्षा गरिएको छ।

प्रमुख उद्देश्य र उपलब्धिहरू
परराष्ट्र सचिव राईका अनुसार प्रधानमन्त्रीको भ्रमणको मुख्य उद्देश्य नेपाल–थाइल्याण्डबीचको मित्रता प्रगाढ बनाउनु, दुई पक्षीय आर्थिक सम्बन्ध विस्तार गर्नु, निजी क्षेत्रको सहकार्य बढाउनु, र राष्ट्रिय समृद्धिको यात्रामा थाइ सरकार र निजी क्षेत्रको साथसाथी जुटाउनु थियो ।

भ्रमणको क्रममा दुई देशबीच पर्यटन र सांस्कृतिक सहकार्यसम्बन्धी दुई छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर भएको छ भने निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाबीच ६ वटा आर्थिक सहकार्यका सम्झौता सम्पन्न भएका छन् ।

प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्दै व्यापार, लगानी, कृषि, पर्यटन, शिक्षा, मानव संशाधन विकासलगायतका क्षेत्रमा द्विपक्षीय तथा बहुपक्षीय सहकार्यबारे विस्तृत र फलदायी छलफल गरेका हुन् । थाइ प्रधानमन्त्रीले नेपालमा लगानी गर्न र प्रविधि हस्तान्तरण गर्न तयार रहेको अभिव्यक्ति समेत दिएका छन्।

क्षेत्रीय सहकार्य र विमस्टेक
भ्रमणको अर्को महत्वपूर्ण पक्ष भनेको प्रधानमन्त्री ओलीले थाइल्याण्डमा आयोजित छैटौँ विमस्टेक शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नु र सदस्य राष्ट्रहरूसँग पारस्परिक हितका विषयमा छलफल गर्नु रहेको थियो ।

यस अवसरमा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विमस्टेक राष्ट्रका अन्य समकक्षीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरी द्विपक्षीय सम्बन्ध र साझा चासोका विषयमा संवाद गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !