२८ चैत्र २०८१, शुक्रबार

गोदावरीमा सम्पन्न भयो बाँससम्बन्धी अन्तर्राष्ट्रियस्तरको सीप विकास तालिम

प्रकाशित मिति :  5 April, 2025 4:32 pm


काठमाडौं । ‘बाँसले जीवन राम्रो बनाउँछ’ भन्ने नाराका साथ ललितपुरको गोदावरी नगरपालिका–४, बडिखेलमा सञ्चालित बाँससम्बन्धी सीप विकास तालिम उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ।

१५ दिनसम्म सञ्चालन भएको उक्त तालिम चैत १३ गतेदेखि सुरु भएको थियो, जसमा गोदावरी नगरपालिकाका विभिन्न वडाबाट छानिएका २१ जना प्रशिक्षार्थीले भाग लिएका थिए।

तालिमको समापन समारोहमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले यो तालिम अन्तर्राष्ट्रिय स्तरको नयाँ र आधुनिक अभ्यास भएको उल्लेख गर्दै यसले स्थानीयबासीका लागि ठूलो अवसर सिर्जना गरेको बताए। उनले सहभागीलाई प्राप्त सीपलाई समुदायमा बाँड्न र बाँसबाट उत्पादन गर्न सकिने सम्भावनालाई व्यवसायिक रूप दिन आग्रह गरे। तालिमले नेपाल–चीन जनस्तरको सम्बन्ध विस्तारमा पनि योगदान पुर्‍याएको उनले बताए।

सोशल डेभलपमेन्ट भिजन, ललितपुरका अध्यक्ष शिवकुमार बस्नेतले छोटो अवधिमा प्रशिक्षार्थीले राम्रो ज्ञान हासिल गरेकोमा खुसी व्यक्त गर्दै बाँसमा आधारित उत्पादनले दीर्घकालीन रोजगारी सिर्जना गर्न सक्ने बताए।

गोदावरी–४ का वडाध्यक्ष सानुभाई नगरकोटीले चीनबाट आएका विशेषज्ञले दिएको तालिमले स्थानीय उत्पादनलाई व्यवसायिक दिशामा लैजान सक्ने विश्वास व्यक्त गर्दै चीनबाट चोया काट्ने मेसिन र बाँसको बीउ ल्याउन सके अझ ठूलो लाभ लिन सकिने बताए।

नेपाल–चाइना कैलाश कल्चर प्रमोशन डेभलपमेन्ट एसोसिएसनका अध्यक्ष रेञ्जिन नोर्बुले उच्च सहभागिताका साथ सम्पन्न तालिमले दुवै देशबीचको मित्रता बलियो बनाएको बताउँदै भविष्यमा पनि यस्तो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

तालिमले विशेष गरी पहरी र नगरकोटी समुदायका लागि आम्दानीको नयाँ स्रोत खोल्ने विश्वास गरिएको छ। सहभागी प्रशिक्षार्थी दुर्गा पहरीले यस तालिमबाट आफूले विगतको भन्दा नयाँ र उपयोगी सीप सिकेको अनुभव बाँड्दै भविष्यमा पनि यस्ता तालिमको माग गरे।

समापन समारोहमा प्रशिक्षार्थी र प्रशिक्षकलाई प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिएको थियो। उक्त तालिम सोशल डेभलपमेन्ट भिजन, ललितपुरको आयोजनामा सञ्चालित भएको हो। तालिममा चीनको सिजाङ (तिब्बत) मा मुख्यालय रहेको गुडविल फाउण्डेसन र काठमाडौंस्थित नेपाल–चाइना कैलाश कल्चर प्रमोशन डेभलपमेन्ट एसोसिएसनको सहयोग रहेको थियो। स्थानीय साझेदारको रूपमा गोदावरी नगरपालिका, गोदावरी उद्योग वाणिज्य संघ तथा ग्रीन ब्याम्बो क्रियशनको सहकार्यमा तालिम सम्पन्न भएको हो।



प्रतिक्रिया दिनुहोस !