पूर्वराजालक्षित गगन थापाको टिप्पणी : अबको दशक मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय होइन

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा ‘मिल्काइसकेको पात्र’ को बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौँमा बाह्रखरी मिडियाले आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री थापाले २०८०–०९० को दशकलाई नेपालका लागि महत्वपूर्ण अवसरको समयका रूपमा चित्रण गर्दै अब ‘गइसकेको, थन्काइसकेको’ विषयवस्तुमा होइन, देशको भविष्य निर्माणमा केन्द्रित बहस हुनुपर्ने धारणा राखेका हुन् ।
उनले भने, “अबको ८/१० वर्षभित्रमा कीर्तिपुरको डाँडामात्र होइन, देशभरका थुप्रै डाँडाहरुमा साथीहरूले दुई–चार लाख रुपैयाँ कमाउनसक्ने स्थिति बनाउन सक्छौं । त्यो सम्भावना हामीसँग छ । त्यसका लागि सोच्न र त्यही दिशामा काम गर्न आवश्यक छ । हाम्रो शुरुवात भइसकेको छ, अब गति बढाउनुपर्ने हो ।”
महामन्त्री थापाले आगामी दशकमा सूचना प्रविधि (आईटी) क्षेत्रमा फड्को मार्ने रणनीति तय गर्नुपर्नेमा जोड दिए ।“ अब बहसको विषय भनेको हाम्रो आईटी एक्सपर्टलाई ५ गुणा कसरी बनाउने ? तलब ३ गुणा कसरी बढाउने ? आईटीको पूर्वाधार कसरी विस्तार गर्ने भन्ने हुनुपर्छ,” उनले स्पष्ट पारे ।
आईटी क्षेत्रको सम्भावनाबारे चर्चा गर्दै उनले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा हुँदाहुँदै पनि यो क्षेत्रमा आशा देखिएको बताए ।“
आईटी क्षेत्रमा नेपाललाई धेरै अवसरहरू छन्,” उनले भने, “यो अवसरलाई उपयोग गर्न निजी र सरकारी क्षेत्रबीच सहकार्य आवश्यक छ। अब प्रतिस्पर्धा होइन, सहकार्यमार्फत अघि बढ्ने हो ।”
राजतन्त्रको सन्दर्भमा बोल्दै महामन्त्री थापाले “गइसकेको, नचाहिने, थोत्रो” विषयमा बहस गरेर समय खेर फाल्न नहुने उल्लेख गर्दै वर्तमान र भविष्यका सम्भावनाहरूमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।