२७ चैत्र २०८१, बिहिबार

उल्टो बुद्धिका शासनले नेपाल दशकौँ पछाडि पर्‍यो-प्रधानमन्त्री ओली

प्रकाशित मिति :  5 April, 2025 8:01 pm


फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास यात्रा ऐतिहासिक रूपमा गौरवशाली भए पनि उल्टो बुद्धिका शासकहरू र सामन्ती राजनीतिक व्यवस्थाका कारण देश दशकौँसम्म पछाडि परेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौँमा बाह्रखरी मिडियाले आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको प्राचीन सभ्यता, स्वाभिमान र ज्ञानको परम्परा उच्च भए पनि त्यसलाई लत्याउने राजनीतिक सोचका कारण जनताको जीवनस्तर उकास्न सकिने अवसर गुमेको बताएका हुन् ।

उाले भने, “हामी गौरवपूर्ण, स्वाभिमानपूर्ण इतिहासबाट आएका हौं । ज्ञान र सभ्यताको विकासमा हाम्रा पूर्वजहरू अग्रणी थिए तर पछि सामन्ती र औपनिवेशिक सोच बोकेको शासकीय अभ्यासले समाजलाई अन्धकारमा राख्यो । उल्टो बुद्धिका शासक आए, जसले महिलाले पढ्न नपाउने, दलितले ज्ञान लिन नपाउने जस्ता कुसंस्कार थोपरे । यस्तो सोचले समाजलाई प्रेम र समानताको बाटोमा होइन, विभाजन र पिछडिएको दिशामा धकेल्यो ।”

महिला र दलितविरोधी सोचले समाजलाई ‘प्यारालाइज’ गर्‍यो
प्रधानमन्त्री ओलीले ऐतिहासिकरूपमा महिलाले वेदको रचना गरेको स्मरण गराउँदै पछि त्यही महिलालाई वेद पढ्न नपाउने सोच विकसित भएको उल्लेख गरे ।

उनले भने, “कतिपय स्थानमा महिलालाई बोल्नै नपाइने, हाँस्नै नपाइने, बुर्खा लगाएर मात्र हिँड्नुपर्ने जस्ता सोचले आधा जनसंख्यालाई प्यारालाइज बनायो । त्यसमाथि दलित समुदायलाई पढ्न नपाइने बनाउने चलन आयो । यस्तो सीमित सोचले देशलाई शताब्दीऔँसम्म स्थिर अवस्थामा राख्यो ।”

कृषिको आधुनिकीकरण बिना समृद्धि सम्भव छैन
प्रधानमन्त्री ओलीले नेपालको समृद्धिका लागि कृषि क्षेत्रको आधुनिकीकरण अपरिहार्य रहेको उल्लेख गरे । उनले भने, “देशको सबैभन्दा ठूलो क्षेत्र कृषि हो । कृषिलाई मेसिनिकरण नगरी, व्यावसायिक नबनाई, गाउँका जनतालाई रोजगारी र तालिम नदिई समृद्धि सम्भव छैन । कृषि मोडर्नाइजेसन भनेको पछाडि परेको ग्रामीण जनसंख्यालाई मोडर्नाइज गर्नु हो ।”

उनले ग्रामीण क्षेत्रमा साना लगानीका उद्योग सञ्चालन, रोजगारी सिर्जना तथा तालिम कार्यक्रमलाई प्राथमिकता दिँदै सरकारले आवश्यक नीति बनाउने बताए ।

“देश धनी हुनका लागि नागरिकको आम्दानी खर्चभन्दा बढी हुनुपर्छ । त्यसको लागि नागरिकलाई काम, तालीम, लगानी, उत्पादन र बचतमा जोड्नुपर्छ,” प्रधानमन्त्री ओलीको भनाइ थियो ।

सकारात्मक सोच र व्यवसायमैत्री नीति निर्माणमा सरकार
प्रधानमन्त्री ओलीले नेपालको भौगोलिक बनावट, प्राकृतिक स्रोत, खनिज र जनशक्तिको सम्भावनालाई उपयोग गरेर समृद्धि सम्भव रहेको बताए ।

उनले सरकार व्यवसायीहरूको अपेक्षाअनुसार नीति निर्माण गर्न तयार रहेको बताउँदै भने, “अब नयाँ सोच, फरक ढंगको कार्यशैली, सरल कानूनी ढाँचा र सकारात्मक मानसिकता आवश्यक छ । नागरिक, किसान, व्यापारी र उद्यमीबीचको सम्बन्धलाई सहज बनाउन सरकार प्रतिबद्ध छ ।”



प्रतिक्रिया दिनुहोस !