पाणिनि तपोभूमि सम्मेलनको तयारी अन्तिम चरणमा : मुख्यमन्त्री आचार्यद्वारा स्थलगत निरीक्षण

अर्घाखाँची । संस्कृत व्याकरणका पिता महर्षि पाणिनिको तपोभूमिमा आयोजना हुन लागेको पाणिनि तपोभूमि सम्मेलन–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।
सम्मेलनको पूर्वसन्ध्यामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थलको स्थलगत निरीक्षण गर्दै तयारीको अवस्थाबारे जानकारी लिएका छन् ।
चैत २७ र २८ गते अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका क्षेत्रलाई केन्द्रविन्दु बनाई आयोजना हुन लागेको यस सम्मेलनको तयारी समिक्षा गर्न मुख्यमन्त्री आचार्यको नेतृत्वमा सुरक्षा समिति, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूको टोलीले स्थलको अवलोकन भ्रमण गरेको हो ।
निरीक्षणका क्रममा मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने पाणिनि तपोभूमिको समुचित व्यवस्थापन, प्रवर्द्धन तथा प्रचारप्रसारमार्फत यस क्षेत्रलाई विश्वस्तरीय गन्तव्यको रूपमा चिनाउने अवसर यो सम्मेलनले प्रदान गर्ने विश्वास व्यक्त गरे ।
उनले सम्मेलनका क्रममा सुरक्षा, यातायात, आवास, खानेपानी, सरसफाइ, अतिथि स्वागत र कार्यक्रम सञ्चालनका पक्षमा ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्दै संबन्धित निकायलाई प्रभावकारी कार्यान्वयनको निर्देशन दिए ।
संस्कृत व्याकरणका जनक महर्षि पाणिनिको तपोभूमिको ऐतिहासिक, धार्मिक र शैक्षिक महत्त्वलाई उजागर गर्ने, साथै त्यस क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासको सम्भावना विस्तार गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
स्थानीय तह, लुम्बिनी प्रदेश सरकार तथा पर्यटनसँग सम्बन्धित विभिन्न निकायहरूको संयुक्त प्रयासमा आयोजना हुन लागेको यो सम्मेलनले पाणिनि क्षेत्रको समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।