२७ चैत्र २०८१, बिहिबार

निर्माण तीब्र बन्दै नारायणगढ बुटवल सडक : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिदै

पूर्वी खण्डमा ५० किलोमिटर कालोपत्रे र २९ पुल निर्माण सम्पन्न
प्रकाशित मिति :  6 April, 2025 8:09 am



दाङ । नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारको कामलाई तीव्रता दिन यही चैत २७ गतेदेखि सवारी आवागमनमा रोक लगाइने भएको छ ।

शनिबार नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको संयुक्त बैठकले दाउन्ने खण्डमा सडक मर्मत र भित्तो कटिङको बाँकी काम वर्षाअगावै सम्पन्न गर्न दैनिक केही घण्टा सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र २०८२ वैशाख १ देखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सवारीबाहेक अन्यको आवागमनमा रोक लगाइनेछ ।

विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले भने, “दाउन्ने खण्डमा यातायात सहज बनाउन र निर्माण कार्यलाई तीव्रता दिन यो कदम चालिएको हो ।”

५० किलोमिटर सडक कालोपत्रे

यसैबीच, नारायणगढ–बुटवल सडकको पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) मा ६३ किलोमिटरमध्ये ५० किलोमिटर सडक कालोपत्रे भइसकेको छ । योजनाका सूचना अधिकारी शिव खनालका अनुसार बाँकी १३ किलोमिटर सडक वर्षाअघि नै कालोपत्रे गर्ने लक्ष्य छ। “दाउन्नेमा चार किलोमिटर सडक र घुम्ती क्षेत्रको चार किलोमिटर ढलान यसै साताबाट सुरु हुन्छ,” उनले भने।

२९ पुल निर्माण सम्पन्न
पूर्वी खण्डमा ३४ वटा पुलमध्ये २९ वटाको निर्माण सकिएको छ । छोटा २२ र लामा सात पुलको काम पूरा भएको छ भने बाँकी पाँचमध्ये जय श्री र बेल्डियाका दुई पुलको ढलान बाँकी छ । दुई सय मिटर लामा तीन पुल (गिरुवारी, अरुणखोला र विनयी खोला) को काम पनि अघि बढिरहेको छ। खनालले भने, “विनयी खोलाको नयाँ पुल जेठ पहिलो साता सञ्चालनमा ल्याउने लक्ष्य छ।”

समयमा काम नसकिँदा म्याद तेस्रोपटक थप
१७ अर्ब लागतको यो आयोजना चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनले २०७५ माघ २४ मा सम्झौता गरेको थियो। निर्धारित समयमा काम नसकिएपछि तेस्रोपटक २०८२ साउनसम्म म्याद थप गरिएको छ । ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा सर्भिस लेनसहित चार लेन र दाउन्नेमा १४ किलोमिटर तीन लेनको बनाइँदै छ ।

दाउन्ने क्षेत्रमा उबडखाबड सडक, साँघुरा घुम्ती र धुलाम्मे बाटोले यात्रुले सास्ती खेपिरहेका छन्। निर्माणले गति लिए पनि पूर्ण सहजता अझै बाँकी छ।



प्रतिक्रिया दिनुहोस !