२८ चैत्र २०८१, शुक्रबार

अर्घाखाँचीको मालारानीमा जीप दुर्घटना: दुई जनाको मृत्यु, दुई घाइते

प्रकाशित मिति :  6 April, 2025 9:31 am



दाङ । अर्घाखाँचीको मालारानी गाउँपालिकामा भएको एक जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मालारानी–३ लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जीप आज बिहान अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार दुर्घटनामा मालारानी–४ निवासी २२ वर्षीय चालक दिलीप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा सोही ठाउँका १७ वर्षीय भुवन पोख्रेल र वसन्त पोख्रेल घाइते भएका छन् । उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जीप तीव्र गतिमा रहेको र सडक भिरालो भएकाले अनियन्त्रित भई गाडी तल खसेको प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थलमा प्रहरी टोली पुगेर उद्धार कार्य सम्पन्न गरेको र दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !