२७ चैत्र २०८१, बिहिबार

बीपीको सालिकमा कालोमोसो दलिएको घटनाप्रति एमाले महासचिव पोखरेलको आपत्ति

प्रकाशित मिति :  6 April, 2025 12:57 pm


काठमाडौँ । नेपालगन्जमा राप्रपाका कार्यकर्ताले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको सालिकमा कालोमोसो दल्दै तोडफोड गरेको घटनाप्रति नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आपत्ती जनाएका छन् ।

पोखरेलले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै यो घटनालाई राजावादी प्रवृत्तिको खतरनाक संकेतका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार राप्रपाले “राजसंस्था पुनर्स्थापनाको आन्दोलन” भन्दै जनमत बटुल्न खोजिरहेका बेला बीपीजस्ता लोकतान्त्रिक नेताको अपमान गर्नु दुराशयपूर्ण कार्य हो ।

“राजतन्त्र होइन, राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा हो राप्रपा भन्नेहरूले नेपालगन्जमा बीपीको सालिकमा कालोमोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेछन्,” पोखरेलले लेखेका छन्, “अब आफैँ बुझ्नुहोस्, राजावादीहरू के चाहन्छन् ? यो आन्दोलनका संयोजक धवल शमशेरको गृहनगरबाट आएको सन्देश हो कांग्रेसभित्रका संवैधानिक राजसंस्थाका हिमायतीहरूका लागि ।”

उनले यो घटनाले राजसंस्था र लोकतन्त्र एउटै छातामुनि अटाउन नसक्ने यथार्थ फेरि पुष्टि गरेको बताए । “यदि हामीले पूर्वराजा ज्ञानेन्द्रको शासन भोग्नुपरेको अनुभवलाई सम्झने हो भने, बीपी पनि आजको दिनमा गणतन्त्रकै पक्षमा उभिनु हुन्थ्यो,” पोखरेलको दाबी छ।

पोखरेलले बीपीभन्दा गिरिजाप्रसाद कोइराला बढी संवैधानिक राजसंस्थाका हिमायती रहेको उल्लेख गर्दै स्मरण गराएका छन् कि अन्ततः गिरिजाप्रसादकै नेतृत्वमा नेपाल गणतन्त्रमा प्रवेश गरेको हो ।

बीपी कोइरालाको सालिकमाथिको आक्रमणप्रति नेपाली कांग्रेस नेतृत्व मौन देखिएको सन्दर्भमा पोखरेलको यस्तो कडा प्रतिक्रिया सार्वजनिक भएको हो ।

उनले संकेत गरेका छन् कि यो आक्रमण केवल एक मूर्तिमा नभई नेपाली लोकतान्त्रिक इतिहासमाथिको अपमान हो, र कांग्रेसभित्रका राजसंस्थाको समर्थन गर्ने पक्षधरहरूले यसको गम्भीर विश्लेषण गर्नुपर्ने समय आएको छ ।

यसैबीच, कांग्रेस नेतृत्वले यसबारे औपचारिक धारणा नदिँदा आलोचना बढ्दै गएको छ। पोखरेलको टिप्पणीले यो विषय थप राजनीतिक बहसको विषय बन्ने देखिएको छ।



प्रतिक्रिया दिनुहोस !