१६ बैशाख २०८२, मंगलबार

सिंगो नेपाललाई खुला संग्रहालय बनाउनु आवश्यक छ- पर्यटनमन्त्री पाण्डे

प्रकाशित मिति :  6 April, 2025 1:15 pm



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले विविध संस्कृति र प्रकृतिको धनी नेपाललाई खुला संग्रहालयको रुपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

आइतबार ललितपुर महानगरपालिका–१६ पाटन दरबारस्थित जीर्णोद्धार तथा पुनर्निर्माण सम्पन्न देगुतलेजु मन्दिरको समुद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले नेपालका भौतिक र अभौतिक सम्पदालाई संरक्षण गर्दै देशलाई एक अद्वितीय पर्यटकीय गन्तव्य बनाउने खाँचो औंल्याए ।

उनले भने, “नेपालको विविधतापूर्ण संस्कृति र प्रकृतिको ग्लोबल एड्भोकेसी गर्नुपर्नेछ । हामीसँग हिमालदेखि तराईसम्मको अनुपम भौगोलिक र सांस्कृतिक विविधता छ, जसलाई संरक्षण र प्रचार गर्न सके सिंगो नेपाललाई खुला संग्रहालयको रुपमा विश्व सामु चिनाउन सकिन्छ ।”

मन्त्री पाण्डेले नेपालको हिमाल, पहाड र तराईले दिएको प्राकृतिक सम्पदा, विभिन्न जातजातिका भाषा, भेषभूषा, चाडपर्व, खानपान र रहनसहनका तरिका अभौतिक सम्पदाका उदाहरण भएको उल्लेख गर्दै त्यसलाई भौतिक सम्पदासँग जोडेर विश्वभर प्रवर्द्धन गर्नुपर्ने बताए ।

उनले थप भने, “हामी केबल भौतिक सम्पदाको मात्र कुरा गरिरहेका छैनौँ, अभौतिक सम्पदाहरु पनि उतिकै महत्वपूर्ण छन् । ती सबैलाई जोगाएर र प्रवर्द्धन गरेर नेपाललाई एक प्राकृतिक र सांस्कृतिक गन्तव्यको रुपमा अगाडि बढाउनु हाम्रो कर्तव्य हो ।”

मन्त्री पाण्डेले पर्यटन क्षेत्रबाट नेपालको आर्थिक विकास सम्भव भएको उल्लेख गर्दै यसको लागि सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार, विदेशी पर्यटकले नेपाली संस्कृति, परम्परा, चाडपर्व र खानपानको अनुभव लिने अवसर पाएमा त्यसले देशको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।

नेपालको सांस्कृतिक राजधानी ललितपुरमा पुनर्निर्माण सम्पन्न देगुतलेजु मन्दिरको समुद्घाटन समारोहमा मन्त्री पाण्डेले सम्पदा संरक्षणमा तीनै तहका सरकार र स्थानीय समुदायको सहकार्य अपरिहार्य रहेको धारणा राखे।



प्रतिक्रिया दिनुहोस !