विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूको सिठी जुलुस : चैत्र २५ पछि शैक्षिक हड्तालको चेतावनी

काठमाडौँ । विद्यालय शिक्षा ऐनको शीघ्र जारीको माग गर्दै देशभरका शिक्षकहरू आन्दोलनमा उत्रिएको बेला आज काठमाडौँमा सिठी जुलुस निकालिएको छ ।
नेपाल शिक्षक महासंघको आह्वानमा माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म गरिएको सिठी जुलुसमा सयौं शिक्षक सहभागी भएका थिए ।
सिठी बजाउँदै शिक्षकहरूले सरकारको ध्यान आकर्षण गराउने प्रयास गरेका छन् । उनीहरूले शिक्षासँग सम्बन्धित ऐन अझै पनि नआएकोप्रति असन्तुष्टि जनाउँदै, अबको आन्दोलन अझ कडा हुने चेतावनी दिएका छन् ।
शिक्षकहरूको माग छ–गुणस्तरीय विद्यालय शिक्षा सुनिश्चित गर्न, शिक्षक र कर्मचारीमैत्री व्यवस्था कायम गर्न र शिक्षालाई समावेशी र उत्तरदायी बनाउँदै विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्छ ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू २०८१ साल माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् । महासंघले सरकारसँग पटक–पटक वार्ता गरे पनि माग पुरा नहुँदा आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउँदै लैजाने निर्णय गरेको छ ।
महासंघले चैत्र २५ गतेसम्म पनि माग पुरा नभए देशव्यापी शैक्षिक हड्तालमा जाने चेतावनी दिएको छ। यसले सम्पूर्ण विद्यालय तहको शैक्षिक गतिविधि ठप्प हुने खतरा उत्पन्न भएको छ ।
शिक्षकहरूले शिक्षा ऐनको अभावले विद्यालय व्यवस्थापनमा अन्योल उत्पन्न भएको, शिक्षकको सेवा–सुविधा र सुरक्षामा अस्पष्टता देखिएको र विद्यार्थीको सिकाइ प्रक्रियामा समेत असर परेको बताएका छन् ।
महासंघका पदाधिकारीहरूले अबको आन्दोलन शिक्षालाई बचाउन र शिक्षकलाई सम्मान दिन हो भनेर स्पष्ट पारेका छन् । उनीहरूले सरकारलाई तत्काल गम्भीर भएर वार्ता टुंग्याउने र ऐन ल्याउने निर्णय गर्न आग्रह गरेका छन् ।
सरकारको ढिलासुस्तीपूर्ण रवैयाप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले संघर्ष चर्काउन थालेपछि शिक्षासम्बन्धी नीति निर्माणमा तीव्रता आउने अपेक्षा गरिएको छ ।