१६ बैशाख २०८२, मंगलबार

गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँ, प्रचण्डजी पछि आउनुभएको होः माधव नेपाल

प्रकाशित मिति :  6 April, 2025 1:59 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोईराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर आएको बताएका छन् ।

आइतवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) वागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी जनयुद्धबाट तीन नेताले बसेर सहमति गरिसकेपछि मात्रै मिसिएको बताएका हुन् । उनले तत्कालीन नेकपा एमालेमा रहँदा आफ्नो पार्टीले साउन महिनामा नै गणतन्त्र ल्याउने निर्णय गरेको दाबी गरे ।

कोईराला र आफूले नै सबै सहमति गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको बताए । उनले पछिल्ला घटनाक्रमहरूप्रति लक्षित गर्दै अध्यक्ष नेपालले पूर्वराजा शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको र राजाको इच्छा पनि नरहेको कुरा भनेको आफूले सुनेको भन्दै धन्यवाद ज्ञापन गरे । पूर्वराजाको इच्छा नगरेको कुरापछि बाहिर हल्ला मात्रै रहेको र त्यसले मन शान्त भएको उनको भनाइ छ । पूर्वराजाको नाम लिएर अरुले फाइदा उठाउन खोजेको भन्दै राजनीति गर्ने भए पार्टी खोलेर चुनावमा आउन पूर्वराजालाई चुनौति दिए ।

अध्यक्ष नेपालले राजाहरुले विगतमा के काम गरेर अहिले राजा फर्काउने भन्दै प्रश्न गरे । उनले जनताले रोजेको व्यक्ति भन्दा वंशको शासनले देशको भलो गर्न नसक्ने बताए । उनले राजावादीहरुले मच्चाइरहेको हल्लामा कुनै सत्यता नरहेको बताए । उनले राजावादी नेताहरु पनि सरकारमा रहेको उल्लेख गर्दै अरूलाई दोष दिएर मात्रै नहुने जिकिर गरे । उनले एमाले—काँग्रेस—नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा सुरक्षा दिएपनि आफ्नो पार्टी कार्यालयमा सुरक्षा नदिएको भन्दै सरकारको आलोचना गरे ।



प्रतिक्रिया दिनुहोस !