नेपालको राजसंस्थामा संवैधानिक चरित्रको अभाव–महामन्त्री थापा

दाङ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेपालको राजसंस्थासँग संवैधानिक रूपमा बस्ने चरित्र नभएको कडा टिप्पणी गरेका छन् ।
दाङको तुलसीपुरमा आइतबार आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले नेपालको राजसंस्थालाई विश्वका अन्य मुलुकका संवैधानिक राजसंस्थासँग तुलना गर्दै त्यस्तो विशेषता नेपालमा नदेखिएको बताए ।
“यो बेलायतको राजसंस्था जस्तो होइन”, थापाले भने, “निर्मल निवासमा बस्दा त यत्रो उत्पात मच्चाइएको छ भने अहिले नारायणहिटीमा बसेको भए के हालत हुने थियो, सहजै अनुमान गर्न सकिन्छ ।”
उनले नेपालको राजसंस्थाको इतिहासलाई लिएर कांग्रेसको विगतको संघर्षको स्मरण पनि गरे । “राजाबाट सबैभन्दा बढी लखेटिएको र दुःख पाएको पार्टी भनेकै कांग्रेस हो”, उनले भने, “हामीले पटक–पटक राजसंस्थालाई संवैधानिक परिधिभित्र राखेर लोकतान्त्रिक प्रणालीमा सहभागी गराउने प्रयास ग¥यौं, तर त्यसको चरित्र नै संवैधानिक बन्न नसक्ने खालको थियो”, उनले थपे, “त्यसैले हामीले अन्ततः जनताको शासन रोज्यौं, किनभने जनताको सार्वभौमसत्तामाथि आधारित व्यवस्था नै देशको हितमा छ भन्ने हामीलाई लाग्यो ।”
फरक प्रसङ्गमा बोल्दै थापाले अहिलेको शासन प्रणालीमा पनि पारदर्शिताको अभाव रहेको औंल्याउनु भयो । खासगरी नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको चर्चा चलिरहेको सन्दर्भमा उहाँले सर्वसाधारणमा ठूलो चिन्ता रहेको बताए ।