१० बैशाख २०८२, बुधबार

राप्रपा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा छ–अध्यक्ष लिङ्देन

प्रकाशित मिति :  6 April, 2025 7:18 pm


दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले प्रत्यक्ष रूपमा कार्यकारी प्रधानमन्त्री चुन्न पाउने व्यवस्था लागु गर्नुपर्ने बताएका छन् ।

राप्रपा क्षेत्र नम्बर १ ले दाङको लमहीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा राप्रपा रहेको बताएका हुन् ।

आफूहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको वकालत गर्दै गरेको आन्दोलनलाई दबाउने कुनै पनि प्रयास भए त्यसको कडा जवाफ दिने उनले बताए । “प्रधानमन्त्रीलाई सबै जनताले भोट हाल्ने व्यवस्था चाहिन्छ, आन्दोलन दबाउन खोजिए हामी जेल भर्न तयार छौं”, उनले भने ।

देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चिएको आरोप लगाउँदै अब नयाँ व्यवस्थाको आवश्यकता रहेको उनको भनाइ छ । गणतन्त्रले लुटतन्त्रलाई संस्थागत गरेको दाबी गर्दै उनले भने, “वर्तमान सत्ता जति लामो समय चल्छ, जनताले त्यति नै दुःख पाउँदै जान्छन् ।”

उनले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ जस्ता नेताहरू पटक–पटक प्रधानमन्त्री बने पनि देशको अवस्था नसुध्रिएको भन्दै उक्त नेतृत्वमाथि प्रश्न उठाए ।

“२०४६ सालदेखि अहिलेसम्म उही नेता र उही नेतृत्वले देशलाई कहाँ पु¥यायो ? उड्न नसक्ने हवाइजहाज किनिन्छ, जहाज नबस्ने विमानस्थल बनाइन्छ, यो सब कमिसनका लागि हो”, उनले आरोप लगाए । लिङ्देनले राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्ने विश्वव्यापी उदाहरण रहेको भन्दै आफूहरूले चाहेको व्यवस्था यही भएको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !