१ बैशाख २०८२, सोमबार

पाणिनी सम्मेलन : संस्कृतको उद्गमस्थललाई चिनाउन लुम्बिनी सरकारकाे सक्रियता

प्रकाशित मिति :  7 April, 2025 7:45 am


दाङ । विश्वको प्राचीन भाषा संस्कृतको व्याकरणको उद्गमस्थल मानिने अर्घाखाँचीको पाणिनी तपोभूमीलाई विश्वसामु चिनाउन यही चैत २७ र २८ गते राष्ट्रियस्तरको पाणिनी तपोभूमी सम्मेलन आयोजना हुने भएको छ ।

लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र पाणिनी गाउँपालिकाको संयुक्त पहलमा हुने यो सम्मेलनले पाणिनीको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई उजागर गर्ने लक्ष्य राखेको छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्रीबाट
सम्मेलनको उद्घाटन चैत २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ । पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेका अनुसार, सम्मेलनमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपानेसहित संस्कृत भाषा र व्याकरणका विद्वान्, धर्मगुरु र अनुसन्धानकर्ताहरूको सहभागिता रहनेछ ।

पाणिनी तपोभूमीको महत्व
संस्कृत व्याकरणका प्रतिपादक महर्षि पाणिनीले भगवान् शिवबाट १४ सूत्र प्राप्त गरी तपस्या गरेको मानिने यो क्षेत्र विश्व भाषा सम्पदाको एक प्रमुख स्थल हो ।

पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमानाथ न्यौपानेले भने, “यो सम्मेलन पाणिनीको अध्ययन, प्रचार–प्रसार र संरचनागत विकासका लागि कोसेढुंगा सावित हुनेछ।”

उनका अनुसार, पाणिनीले तपस्यापछि शिवबाट प्राप्त १४ सूत्रबाटै संस्कृत व्याकरणको आधार तयार भएको मानिन्छ, जुन आज पनि भाषाशास्त्रको अध्ययनमा महत्वपूर्ण छ।

यो क्षेत्र प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छ । पाणिनी तपोभूमिबाट उत्तरतर्फ कालीगण्डकी र दक्षिणतर्फ वाणगंगा नदी बग्छन्। यहाँ रहेको दह, शिव मन्दिर, गणेश मन्दिर, हनुमान मन्दिर र धर्मशालाले धार्मिक पर्यटकलाई आकर्षित गर्छ। साउन महिनामा यहाँ ठूलो मेला लाग्ने गर्छ, जहाँ श्रद्धालुहरू स्नान र रुद्राभिषेकका लागि आउँछन् ।

पर्यटन र आर्थिक विकासको आधार
लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीले सम्मेलनलाई पाणिनीको प्रचार मात्र नभई लुम्बिनी प्रदेशको पर्यटन वृद्धिको अवसरका रूपमा रहने बताएका छन् ।

उनले भने, “रिडी, स्वर्गद्वारी र पाणिनीलाई जोडेर धार्मिक सर्किट बनाउन सके पर्यटन र स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुग्नेछ ।”

यस्तै, बुटवलमा हालै आयोजित सरोकारवालासँगको छलफलमा स्वामी श्री ज्ञानानन्द सरस्वतीले पाणिनीको महत्व उजागर गर्न पुस्तिका प्रकाशन र संरक्षणमा सबैको सहयोग आवश्यक रहेको बताए ।

मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गणेश घिमिरेले भने, “संस्कृति र प्रकृतिलाई पर्यटनको आधार बनाएर स्थानीय समुदायलाई जोड्ने हाम्रो लक्ष्य हो ।”

सम्मेलनको तयारी तीव्र
सम्मेलनका लागि गाउँपालिकाले अतिथिहरूलाई दह नजिकै बस्ने व्यवस्था र भण्डारा सञ्चालनको तयारी गरिरहेको छ । पाणिनी तपोभूमि संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष पुष्करराज पोख्रेलले भने, “यो क्षेत्र विश्वकै प्राचीन भाषाको उद्गमस्थल हो, तर ओझेलमा परेको छ। सम्मेलनले यसको प्रचार–प्रसारमा ठूलो भूमिका खेल्नेछ ।”

दीर्घकालीन गुरुयोजनाको अपेक्षा
पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले यहाँ पाणिनीको तपस्याको प्रमाण भेटिएको दाबी गर्दै सम्मेलनबाट दीर्घकालीन गुरुयोजना बन्ने अपेक्षा गरेका छन् । सम्मेलनमा धार्मिक, सांस्कृतिक र पर्यटकीय छलफलका साथै कार्यपत्र प्रस्तुत गरिनेछ ।

नेपाल सरकारले सन् २०७६ मा पाणिनी तपोभूमीलाई देशका १०० पर्यटकीय गन्तव्यमध्ये एकमा सूचीकृत गरेको थियो । यो सम्मेलनले पाणिनीलाई विश्वभर चिनाउने र धार्मिक पर्यटनको केन्द्र बनाउने सपना साकार पार्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !