२९ चैत्र २०८१, शनिबार
लामिछानेलाई आज कारागार चलान गरिदै

पूर्व गृहमन्त्री लामिछानेका हिरासतका ४८ घण्टा : भेटघाटदेखि सर्वोच्च अदालत जानेसम्मको योजना

प्रकाशित मिति :  7 April, 2025 9:41 am


दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले रुपन्देही जिल्ला प्रहरी कार्यालयको हिरासतमा ४८ घण्टा बिताएका छन् ।

हिरासतमा रहँदा पार्टीका जिल्लादेखि केन्द्रीय नेतासँग भेटघाट गरेका लामिछानेले उच्च अदालतको आदेशका विरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेका छन् । नेताहरुसँग भेटका लामिछानेले आफ्नो प्रतिनिधिमाफत् सर्वोच्च अदालतमा थुनछेक आदेशका बिरुद्ध आजै निवेशन दर्ता गर्दै छन् ।

रास्वपाका नेता दिपक न्यौपानेले आजै सर्वोच्च अदालतमा निवेदन दायर गर्ने जानकारी दिए । “हाम्रा सभापतिलाई षड्यन्त्रपूर्ण तरिकाले फसाइएको छ, न्यायिक निरुपणका लागि हामी सर्वोच्च अदालत जादै छौँ”, न्यौपानेले भने । उनले उच्च अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै सर्वोच्चबाट न्याय पाउने विश्वास व्यक्त गरे ।

हिरासतका ४८ घण्टा : मौनता र असन्तुष्टि
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा ४८ घण्टा बिताएका लामिछानेका अभिव्यक्ति बाहिर आएका छैनन् । विगतमा हिरासतमा रहँदा पटक–पटक सार्वजनिक प्रतिक्रिया दिँदै आएका लामिछाने यसपटक भने मौन छन् । उनको कुनै औपचारिक धारणा बाहिर आएको छैन ।

यसबीचमा उनले पार्टीका केन्द्रीय नेताहरूसँग भेटघाट गरेका छन् । लुम्बिनी सञ्चारलाई प्राप्त जानकारीअनुसार उनले उपसभापति डा. स्वर्णिम वाग्ले, नेता दिपक न्यौपाने, सचिवालय प्रमुख दिपक बोहोरा, गायक रामकृष्ण ढकाल र रुपन्देही जिल्ला अध्यक्ष बुद्धि शर्मासँग भेट गरेका छन् ।

भेटमा लामिछानेले आफूलाई नियोजित रूपमा पक्राउ गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । “म आफैँ उपस्थित हुन तयार थिएँ तर अनाहकमा पक्राउ गरेर बिदाको दुई दिन हिरासतमा राखियो”, उनले भेटमा भनेको स्रोतले जनायो । उनले यो प्रकरणलाई आफ्नो छवि धमिल्याउने षड्यन्त्रका रूपमा लिएका छन् ।

यता रास्वपाका नेता न्यौपानेले सभापति लामिछानेमाथिको कारबाही राजनीतिक प्रतिशोधको परिणाम भएको आरोप लगाएका छन् । “यो घटनाले हाम्रो पार्टीलाई कमजोर बनाउने प्रयास भएको छ तर हामी कानुनी लडाइँ लडेर सत्य बाहिर ल्याउनेछौँ”, उनले थपे ।

लामिछानेलाई आज कारागार पठाइदै
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लामिछानेलाई आजै कारागार चलान गर्ने जानकारी दिएको छ । जिल्ला प्रहरी प्रमुख रञ्जितसिंह राठोरले लामिछानेलाई जिल्ला अदालतमा पेश गरेर कारागार चलान गर्ने जानकारी दिए ।

“न्यायिक प्रक्रिया पूरा गरेर आजै उहाँलाई कारागार पठाइनेछ”, जिल्ला प्रहरी प्रमुख राठोरले भने भने ।
शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले लामिछानेलाई अदालतमा पेश गर्न ढिलाइ भएको राठोरको भनाइ छ ।

सहकारीको रकम अपचलनको कसुरमा यसअघि पक्राउ परेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरुङलाई भैरहवा जिल्ला कारागारको ब्लक नं. १ मा राखिएको छ भने अर्का अभियुक्त छविलाल जोशी लाई ब्लक नं. २ मा पुर्पक्षका लागि थुनामा राखिएको छ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेमाथि पनि यही अभियोग लागेकाले उनलाई पनि यही ब्लकमा राख्ने तयारी भइरहेको कारागार स्रोतको भनाइ छ ।

सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि उनी शुक्रबार बुढानिलकण्ठस्थित आफ्नो निजी निवासबाट पक्राउ परेका थिए । शनिबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ल्याइएका लामिछानेलाई हिरासतमा राखिएको थियो ।

घटनाको पृष्ठभूमि र प्रभाव
पूर्व गृहमन्त्री लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहँदा सहकारीको रकम अपचलन गरेको अभियोग छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार उनलाई थुनामा राख्ने आदेश दिएपछि प्रहरीले तत्कालै कारबाही अघि बढाएको हो ।

अदालतको फैसलाले रास्वपालाई ठूलो धक्का लागेको विश्लेषकहरूको भनाइ छ । लामिछानेका समर्थकहरूले भने यो प्रकरणलाई राजनीतिक षड्यन्त्रका रूपमा व्याख्या गरिरहेका छन् । उता, सहकारी पीडितहरूले भने लामिछानेसहित अभियुक्तहरू ओम गुरुङ र छविलाल जोशीमाथि कडा कारबाहीको माग गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !