आज मन्त्रीपरिषद् बैठक बस्दै बस्दै : हुन सक्छन् यी निर्णय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आजको मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको बताइएको छ। मन्त्रिपरिषद्का एक सदस्यका अनुसार, बैठकको एजेन्डा औपचारिकरूपमा खुलाइएको छैन ।
चैत २३ गतेदेखि नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त रहेकाले उक्त पदमा नियुक्तिसम्बन्धी निर्णय हुने अनुमान गरिएको छ। महाप्रसाद अधिकारीको चारवर्षे कार्यकाल गत चैत २३ गते सकिएपछि राष्ट्र बैंकको गभर्नर पद खाली छ ।
नयाँ गभर्नरको नियुक्तिका लागि विभिन्न स्तरमा छलफल भइरहेको बताइए पनि औपचारिक निर्णय मन्त्रिपरिषद्को बैठकमार्फत् हुने प्रक्रिया अन्तर्गत आजको बैठक महत्वपूर्ण मानिएको छ।
सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिसँगै अन्य प्रशासनिक र नीतिगत विषयमा पनि निर्णय गर्नसक्ने अनुमान गरिएको छ। बैठकमा समसामयिक राजनीतिक, आर्थिक र विकाससम्बन्धी विषयहरू पनि छलफलमा आउने बताइएको छ।