२८ चैत्र २०८१, शुक्रबार
सुप्रिम सहकारी प्रकरणमा थुनामा

पूर्व गृहमन्त्री लामिछाने भैरहवा कारागारको ४ नम्बर ब्लकमा एक्लै

प्रकाशित मिति :  7 April, 2025 1:02 pm


दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोमबार जिल्ला कारागार भैरहवा, रुपन्देहीमा चलान गरिएको छ ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा सहकारीको रकम ठगी गरेको कसुरमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी कारागार पुगेका हुन् । उनलाई भैरहवा कारागारको ४ नम्बर ब्लकमा एक्लै राखिएको छ।

कारागार प्रशासक सुरेश भण्डारीका अनुसार, भैरहवा कारागारमा चारवटा ब्लक छन् । १ र २ नम्बर ब्लकमा अन्य कैदी तथा थुनुवा छन् भने ३ नम्बर ब्लक महिला कैदीका लागि छ ।

४ नम्बर ब्लकमा १० जना बस्ने क्षमता भए पनि हाल लामिछानेलाई एक्लै राखिएको छ । भण्डारीले भने, “उहाँले एक्लै राख्नुपर्छ भनेर कुनै माग गर्नुभएको छैन । हामीले आफ्नै स्वविवेकले यो व्यवस्था गरेका हौं।” उनले लामिछानेको कुनै गुनासो वा माग नरहेको पनि बताए ।

लामिछानेलाई शुक्रबार राति काठमाडौँबाट पक्राउ गरिएको थियो । सुरुमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो । त्यसपछि चैत २३ गते यति एअरलाइन्सको विमानमार्फत् बिहान ९:१२ बजे गौतमबुद्ध विमानस्थल भैरहवा ल्याइएको थियो ।

सरकारी विदाका कारण दुई दिन जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा बिताएका लामिछानेलाई सोमबार जिल्ला अदालत रुपन्देहीमा थुनुवा पुर्जी जारी गरी कारागार पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुरज कार्कीले अदालतको अन्तिम फैसला नआउन्जेल लामिछाने भैरहवा कारागारमै रहने बताए ।

उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले गत शुक्रबार लामिछानेलाई थुनामा राख्ने आदेश दिएका थिए । यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड रुपैयाँ धरौटीमा छाड्ने निर्णय गरेको थियो, तर उक्त आदेश उच्च अदालतले बदर गरिदिएको छ ।

लामिछानेले जिल्ला अदालतको धरौटी निर्णयमा चित्त नबुझाएर उच्च अदालतमा निवेदन दिएका थिए तर उच्च अदालतले धरौटी वा थुनाको निर्णय मुद्दाको प्रकृति, घटनाको परिस्थिति र पीडितको अवस्थामा आधारित हुनुपर्ने भन्दै थुनामा राख्ने आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरले सबै अदालती प्रक्रिया पूरा गरेर लामिछानेलाई कारागार पठाइएको र अर्को आदेश नआउन्जेल उनी त्यहीँ रहने जानकारी दिए । सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि हाल भैरहवा कारागारमै छन्।



प्रतिक्रिया दिनुहोस !