६ बैशाख २०८२, शनिबार

स्वस्तिश्री गुरुकुल आई.बी वर्ल्ड स्कुलद्वारा निःशुल्क फुटबल कार्यशाला सम्पन्न

प्रकाशित मिति :  7 April, 2025 9:11 am


काठमाडौँ। काठमाडौँको स्वस्तिश्री गुरुकुल आई.बी वर्ल्ड स्कुलले ६ देखि १८ वर्ष उमेर समूहका छात्रछात्राहरूलाई लक्षित गरी आइतबार निःशुल्क फुटबल कार्यशाला सम्पन्न गरेको छ। अन्तर्राष्ट्रिय विद्यालय संघको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रम बिहान ९:०० बजेदेखि ११:३० बजेसम्म विद्यालयको सानो भर्याङस्थित प्राङ्गणमा सञ्चालन भएको थियो।

कार्यशालाको उद्देश्य युवा प्रतिभाहरूको पहिचान गर्दै तिनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका दक्ष प्रशिक्षक र विशेषज्ञहरूमार्फत सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गर्नु रहेको थियो। काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयहरूबाट १०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको कार्यशालामा १८ वर्षमुनि, १२ वर्षमुनि र ८ वर्षमुनिका गरी तीन उमेर समूहमा विभाजन गरेर फुटबलसम्बन्धी सीप विकासमूलक तालिम दिइएको थियो।

कार्यक्रममा नेपालको राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक प्रदीप हुमागाईं, पूर्व गोलकिपिङ प्रशिक्षक शैलेस कर्माचार्य, सातदोबाटो सोह्र वर्षमुनि युवा क्लबका प्रमुख प्रशिक्षक उज्ज्वल श्रेष्ठ, राष्ट्रिय महिला टोलीकी फिजियोथेरापिस्ट नवीना श्रेष्ठ, एन्फा रेफ्री निश्चल गुरुङ, प्रशिक्षक सौरभ महर्जन तथा स्वस्तिश्री गुरुकुलका फुटबल प्रशिक्षक पुष्प विष्ट (ज्वाला) ले प्रशिक्षण प्रदान गरेका थिए। प्रशिक्षणको विषयवस्तुमा गोलकिपिङ, ट्याक्टिकल थ्योरी, शारीरिक तन्दुरुस्ती, पोषण, खेलकुदसम्बन्धी चोट र उपचार, रेफ्रिङ र फिजियोथेरापी लगायतका पक्ष समेटिएका थिए।

विद्यालयका खेलकुद प्रशिक्षक पुष्प विष्ट (ज्वाला) को संयोजनमा सञ्चालन गरिएको कार्यक्रमको समापन मिडिया तथा सञ्चार निर्देशक चिराग वाङ्देलले गरेका थिए। समारोहमा विद्यालयकी प्राचार्य नेहा के.सी. ले खेलकुद प्रवर्द्धनमा विद्यालयले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो भने, विद्यालय प्रवन्ध निर्देशक मिना महर्जनले प्रशिक्षकहरूलाई मायाको चिनो प्रदान गरे।

कार्यशालामा उत्कृष्ट प्रदर्शन गर्ने १० जना प्रशिक्षार्थीलाई स्वस्तिश्री स्पोर्ट्स एकेडेमीमा दुई महिनाको निःशुल्क प्रशिक्षण दिने घोषणा समेत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !