नेपाल–भारतबीचको सम्बन्ध बहुआयामिक छ : उपमहासचिव ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सम्बन्धलाई बहुआयामिक र रणनीतिक साझेदारीमा आधारित सम्बन्धको रूपमा चित्रण गरेका छन् ।
गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले दुई देशबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, भौगोलिक तथा राजनीतिक रुपमा गहिरो रहेको उल्लेख गरे ।
उनले भने, “नेपाल–भारत सम्बन्ध बहुआयामिक छ । हामी असाध्यै नजिकका साथीहरू हौं । नजिकको साथी भएको हुनाले कहिले काहीँ केही इस्युहरूमा समस्याहरू देखा पर्न सक्छन्, तर ती संवाद र समझदारीबाट समाधान गर्न नसकिने खालका छैनन् ।”
उपमहासचिव ज्ञवालीले बदलिंदो विश्व परिदृश्यले नेपाल र भारत मात्र होइन, समग्र दक्षिण एशियालाई सहकार्य र पारस्परिक समझदारीको बाटोमा अघि बढ्न आह्वान गरिरहेको बताए । उनले भारतले गरिरहेको तीव्र प्रगति सँगसँगै नेपाल पनि विकासको यात्रामा सहकार्यको अपेक्षा राखिरहेको स्पष्ट गरे ।
“भारतले जसरी तरक्की गरिरहेको छ, त्यो तरक्किसँग नेपाल पनि कुनै न कुनै हिसाबले जोडिन चाहन्छ,” उनले भने, “छरछिमेकमा भइरहेका तीव्र विकाससँगै छोटो समयमा जनतालाई सुखी जीवन दिने चाहना नेपाली राजनीतिक दलहरूको साझा अभिप्राय हो । नेपालको तीव्र विकासको चाहनामा भारतले अझ उदार र सहयोगी भूमिका खेलोस् भन्ने मेरो आग्रह छ ।”
लोकतन्त्रको विकल्प लोकतन्त्र नै
फरक प्रसंगमा बोल्दै उपमहासचिव ज्ञवालीले लोकतन्त्रको विकल्प फेरि लोकतन्त्र नै रहेको धारणा राखे । उनले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण नै राजनीतिक स्थायित्व र जनअपेक्षा पुरा गर्ने एक मात्र बाटो भएको उल्लेख गरे ।
“लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र हो, अन्य कुनै व्यवस्थाले जनअपेक्षा पुरा गर्न सक्दैन,” उनको भनाइ थियो । कार्यक्रममा पूर्व प्रधानमन्त्री चन्द्रशेखरले नेपाल–भारत सम्बन्ध सुदृढ गर्न पुर्याएको भूमिकालाई स्मरण गर्दै वक्ताहरूले साझा हित, सम्मान र बराबरीको आधारमा सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए ।