३ बैशाख २०८२, बुधबार

बुटवलमा एमालेको शक्ति प्रदर्शन : ५० हजार सहभागी उतार्ने तयारी, प्रधानमन्त्री ओलीको सम्बोधन

प्रकाशित मिति :  8 April, 2025 8:03 am


बुटवल । नेकपा (एमाले) ले चैत २९ गते बुटवल मण्डपमा आयोजना गर्न लागेको विशाल जनसभाका लागि अन्तिम तयारी पूरा भएको जनाएको छ । रुपन्देही जिल्लामा आयोजना हुने यस जनसभामा करिब ५० हजार मानिस सहभागी गराउने लक्ष्यसहित पार्टीले व्यापक जनपरिचालन थालिसकेको छ ।

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार यो जनसभा केवल शक्तिप्रदर्शन मात्र नभई पछिल्ला दिनमा लोकतन्त्रविरोधी गतिविधिहरू र सामाजिक सञ्जालमार्फत् फैलाइएका भ्रमहरूविरुद्ध जनतालाई सचेत गराउने उद्देश्यका साथ आयोजना गरिएको हो ।

उनले भने, “सरकारले गरेका राम्रा कामहरूलाई बेवास्ता गर्दै सामाजिक सञ्जालमार्फत दलप्रति वितृष्णा फैलाउने कार्य भएको छ, त्यसको प्रतिवाद स्वरूप हामीले जनसभा गर्न लागेका हौं ।”

जनसभा सफल पार्न एमाले रुपन्देहीले १६ वटै पालिका कमिटी, वडा कमिटी तथा विभिन्न जनसंगठनहरूसँग समन्वय गर्दै जनपरिचालन योजना कार्यान्वयनमा ल्याइसकेको छ ।

पार्टीले वडा र टोलस्तरसम्म ‘जरा अभियान’ सञ्चालन गरिरहेको छ, जसअन्तर्गत स्थानीयस्तरमा प्रत्यक्ष जनसम्पर्क र प्रचार अभियान तीव्र पारिएको सचिव चित्रबहादुर कार्कीले जानकारी दिए। उनी जनसभा तयारीको संयोजन गरिरहेका जनपरिचालन समितिका संयोजक पनि हुन् ।

पार्टीका पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेका अनुसार चैत २९ गतेको जनसभाले एमाले अझै पनि जनताको मनमुटुमा रहेको प्रमाणित गर्नेछ। उनले भने, “हाम्रो सरकारले गरेका कामहरू जनताले बुझेका छन्, र बुटवलको जनसभाले सुशासन, विकास र समृद्धिको सन्देश दिनेछ ।”

जनसभामा पार्टी अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको छ । ओलीको उपस्थितिले पार्टी कार्यकर्ताहरूमा उर्जा थप्ने विश्वास एमाले प्रचार विभाग प्रमुख डिआर घिमिरेले व्यक्त गरे । उनले भने, “पार्टीप्रति जनताको विश्वास कायमै छ। केही स्वार्थ समूहले योजनावद्ध ढंगले भ्रम फैलाउने प्रयास गरेका छन्, तर यो जनसभाले त्यो भ्रम चिर्नेछ ।”

एमालेले ‘मिसन ०८४’ तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई लक्षित गर्दै देशभर जनजागरण अभियान अघि बढाएको सन्दर्भमा बुटवलको यो जनसभा एक महत्वपूर्ण कडीको रूपमा हेरिएको छ । पार्टीले लोकतन्त्र, विधिको शासन र स्थायित्वको पक्षमा दृढता प्रकट गर्दै अराजकता र अस्थिरताको विरोध गर्ने सन्देश दिने तयारी गरेको छ ।

एमाले नेताहरूको दाबीअनुसार मुलुकमा राजनीतिक अस्थिरता फैलाउन खोज्ने प्रतिगामी तत्वहरू सक्रिय भइरहेका सन्दर्भमा जनतालाई त्यसविरुद्ध सचेत गराउन जनसभाले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

बुटवल मण्डपमा हुने यो जनसभा केवल शक्ति प्रदर्शनको माध्यम मात्र नभई पार्टीको नीति, कार्यक्रम र उद्देश्यलाई जनतामाझ स्पष्ट पार्ने अवसरका रूपमा समेत लिइएको बताइएको छ ।

एमाले नेताहरूले जनसभालाई ऐतिहासिक बनाउने दाबी गरेका छन् । त्यसका लागि प्रचारप्रसारदेखि यातायात, बसोबास र व्यवस्थापनसम्मको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । जनसभाका लागि पार्टीको सम्पूर्ण संगठन र कार्यकर्ता परिचालन भइसकेको छ।



प्रतिक्रिया दिनुहोस !