देशको समग्र विकासमा श्रोत व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ-अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र विकासमा श्रोत व्यवस्थापन चुनौतीपूर्ण विषय बन्दै गएको बताएका छन् ।
मंगलबार राजधानी काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) को कार्यक्रममा बोल्दै उनले वर्तमान आर्थिक परिवेशमा विकासको लक्ष्य प्राप्त गर्नका लागि आन्तरिक र बाह्य स्रोतको प्रभावकारी व्यवस्थापन अपरिहार्य भएको उल्लेख गरे।
उनले निजी क्षेत्रको योगदानलाई विकासको मूल आधारको रुपमा व्याख्या गर्दै देश तथा विदेशका निजी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न, उत्पादन वृद्धिमा सहयोग गर्न, रोजगारी सिर्जना गर्न, मुनाफा आर्जन गर्न र राज्यप्रति जिम्मेवार करदाताको भूमिका निर्वाह गर्न आह्वान गरे ।
“पछिल्लो समय हामी स्रोत व्यवस्थापनको सन्दर्भमा थप चुनौती भोगिरहेका छौं,” मन्त्री पौडेलले भने, “त्यसैले हामीले निजी क्षेत्रलाई आकर्षित गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता देखिएको छ ।”
उनले सरकारको तर्फबाट लगानीमैत्री वातावरण निर्माणका लागि विभिन्न अध्यादेशमार्फत कानुनी सुधारको पहल गरिएको जानकारी दिँदै ती अध्यादेशहरु अब कानूनका रुपमा परिणत भइसकेको बताए ।
“लगानीको वातावरण निर्माणका लागि आवश्यक सबै नियमावली, निर्देशिका र मापदण्डहरु तयार भइसकेका छन्,” पौडेलले स्पष्ट पारे, “अब ती दस्तावेजहरु मन्त्रिपरिषद्बाट पारित भएर लागू हुने चरणमा छन् ।”
सरकार नेपाललाई लगानीमैत्री गन्तव्य बनाउने दिशामा प्रतिबद्ध रहेको भन्दै उनले कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि, पूर्वाधार विकास लगायतका क्षेत्रहरुमा लगानीको अपार सम्भावना रहेको दाबी गरे ।
उनले भने, “नेपालमा लगानीका लागि प्रशस्त क्षेत्रहरु छन्, हामी ती क्षेत्रमा निजी लगानी आकर्षित गर्न विभिन्न उपायहरु अवलम्बन गर्दैछौं ।”
अर्थमन्त्री पौडेलको भनाइ अनुसार वर्तमान सरकार आर्थिक सुधार र स्थायीत्वतर्फ उन्मुख भई दीर्घकालीन विकासका आधार तयार पार्न प्रयत्नशील छ।
कार्यक्रममा सहभागी अर्थशास्त्री र व्यवसायीहरुले लगानी वातावरण अझ स्पष्ट, पारदर्शी र भरोसायोग्य बनाउनुपर्ने सुझाव दिएका थिए ।