गभर्नर नियुक्तिमा ढिलाइ भागबण्डाका कारण होइन-सरकारका प्रवक्ता गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिमा भएको ढिलाइ दुई ठूला दल कांग्रेस र एमालेबीचको भागबण्डाका कारण भएको भन्ने प्रचार गलत भएको स्पष्ट पारेका छन् ।
मंगलबार मन्त्रीपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री गुरुङले राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त गरिने जानकारी दिँदै गभर्नर चयन प्रक्रिया सुचिन्तित रूपमा अघि बढिरहेको बताए ।
“गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा डा. विजय भट्टराई र डा. विश्व पौडेल सदस्य रहेको सिफारिस समिति गठन भइसकेको छ, र समितिले आफ्नो काम गरिरहेको छ”, मन्त्री गुरुङले स्पष्ट पारे ।
उनले दलहरूबीच भागबण्डा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ भएको भन्ने दावी तथ्यहीन भएको जिकिर गर्दै भने, “गभर्नरको नियुक्तिमा दुई वटा पार्टीको बीचमा भागबण्डा नमिलेर ढिलो भएको भन्ने कुरा सत्य होइन ।”
हाल कार्यवाहक गभर्नरका रूपमा डेपुटी गभर्नर नीलम ढुंगानालाई तोकिएको र राष्ट्र बैंकको नियमित काम कारबाही अबरुद्ध नभएको बताउँदै उनले थपे, “काम नरोकिने गरी कार्यवाहक गभर्नर तोकिएको छ, छिट्टै स्थायी गभर्नर पनि पाउने छौँ ।”
नेपाल ग्रे लिस्टमा परिरहेको अवस्थाका सन्दर्भमा बोल्दै मन्त्री गुरुङले गभर्नरको भूमिकामात्रै पर्याप्त नहुने धारणा राखे । “नेपाललाई ग्रे लिस्टबाट माथि उठाउने कुरा गभर्नरको हातमा मात्रै छैन”, उनले भने, “सरकारको सुशासन, राष्ट्र बैंकको मौद्रिक तथा वित्तीय नीतिको प्रभावकारी कार्यान्वयन सबैले मिलेर मात्र त्यो सम्भव हुन्छ ।”
उनले मनि लाउण्डरिङ नियन्त्रण, व्यापार सुविधा अभिवृद्धि, वित्तीय पारदर्शिता लगायतका विषयहरूमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै राष्ट्र बैंकसँगको सहकार्यमा सुधारका कार्यक्रमहरू अघि बढिरहेको जानकारी दिए ।