पाणिनिमा आजदेखि सुरु हुँदै पाणिनी सम्मेलन : प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

दाङ । संस्कृत व्याकरणका जन्मदाता, महान ऋषि पाणिनिको स्मृतिमा समर्पित ऐतिहासिक पाणिनी सम्मेलन आजदेखि अर्घाखाँचीस्थित पाणिनी गाउँपालिकामा सुरु हुँदै छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनले केवल विगत सम्झने मात्र होइन, संस्कृत भाषा, प्राचीन ज्ञान र पर्यटनको उज्यालो भविष्यको ढोका समेत खोल्ने अपेक्षा गरिएकाे छ।
दुई दिनसम्म चल्ने यो सम्मेलनमा संस्कृतका विद्वान्, धर्मगुरु, शोधकर्ता र नीतिनिर्माताहरूको उपस्थिति हुँदै छ । कार्यक्रमको आयोजन लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र पाणिनी गाउँपालिकाको संयुक्त पहलमा गरिएको हो ।
शब्दसूत्रका स्रष्टा पाणिनिलाई विश्वसामु चिनाउने प्रयास
“पाणिनिको तपोभूमि केवल एक धार्मिक स्थल होइन, यो प्राचीन भाषा संस्कृतको मुहान हो,” कार्यक्रमका प्रमुख वक्ता रामप्रसाद आचार्यले उद्घाटन सत्रमा भने, “भगवान् शिवबाट प्राप्त १४ महत्त्वपूर्ण सूत्रहरूबाट संस्कृत व्याकरणको ढाँचा तयार गर्ने कार्य पाणिनिले यहींबाट आरम्भ गरेका थिए ।”
पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमानाथ न्यौपानेका अनुसार, “यो सम्मेलन पाणिनिको गहिरो अध्ययन, संरचना निर्माण र अन्तर्राष्ट्रिय प्रचारप्रसारको सुरुवात हो ।”
प्राकृतिक र धार्मिक सौन्दर्यको संगम
पाणिनिको तपोभूमि धार्मिक आस्थाको केन्द्र मात्र होइन, प्राकृतिक सौन्दर्यले पनि भरिएको छ । उत्तरतर्फ बग्ने कालीगण्डकी र दक्षिणतर्फ वाणगंगा नदीले यस क्षेत्रलाई प्रकृतिको उपहार बनाएका छन् । यहाँ रहेको दह, शिव मन्दिर, गणेश मन्दिर, हनुमान मन्दिर र धर्मशालाले धार्मिक पर्यटकलाई बारम्बार बोलाइरहन्छ । साउन महिनामा लाग्ने मेला र रुद्राभिषेकका लागि श्रद्धालुको भीड यहाँ झम्टिन्छ ।
पर्यटनको नयाँ सम्भावना र रणनीतिक सोच
पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक लामु जोशीले पाणिनीको प्रचार मात्र नभई यो सम्मेलन प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनको मेरुदण्ड बन्ने बताए । उनले रिडी, स्वर्गद्वारी र पाणिनीलाई धार्मिक सर्किटमा रूपान्तरण गर्ने योजना सार्वजनिक गरे ।
प्रदेश सरकारको सांस्कृतिक दृष्टिकोण र प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यका अनुसार, “पाणिनि सम्मेलन हाम्रो प्राचीन ज्ञानको पुनर्जागरण र सांस्कृतिक पहिचानको पुनर्स्थापनाका लागि ऐतिहासिक अवसर हो ।”
उनले पाणिनी र पतञ्जलिको तपोभूमिलाई प्राज्ञिक तथा सांस्कृतिक पर्यटनको केन्द्र बनाउने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग, सडक सञ्जाल विस्तार, होमस्टे र होटल पूर्वाधार निर्माण, र निजी क्षेत्रको लगानी प्रवर्द्धनमा जोड दिने स्पष्ट नीति प्रस्तुत गरे ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार पाणिनीको तपोभूमिलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अभियानमा प्रतिबद्ध रहेको जानकारी गराउँदै थपे, “यस्ता प्रयासहरूले रोजगार, समृद्धि र सांस्कृतिक चेतनाको नयाँ युग सुरु गर्नेछ ।”
कार्यपत्रमार्फत पाणिनीको पुनःपाठ
सम्मेलनको पहिलो दिन पाणिनिको ऐतिहासिक पक्षमाथि रामप्रसाद आचार्यको कार्यपत्र प्रस्तुत हुँदैछ । दोस्रो दिन दुईवटा विशिष्ट कार्यपत्र प्रस्तुत हुने छन्, जसमा पाणिनीको योगदान, डिपिआर तयारी र विश्वव्यापी सन्दर्भ समेटिनेछ। सम्मेलनमा भारत, नेपाल, बाङ्गलादेश, श्रीलंका, जर्मनीलगायतका संस्कृत विद्वान्हरू सहभागी छन् ।
पाणिनी सम्मेलन केवल भूत सम्झनाको अवसर होइन, वर्तमानलाई निर्देश गर्ने र भविष्य निर्माण गर्ने अभियान हो । संस्कृतको पुनरुत्थानसँगै पर्यटनको विकास, स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सांस्कृतिक गौरवको पुनर्जागरणका लागि यो सम्मेलन ऐतिहासिक कोशेढुंगा सावित हुनेछ ।
काे हुन् पाणिनि
महर्षि पाणिनि, जसलाई विश्वले “भाषा व्याकरणका पिता” को रूपमा सम्मान गर्दछ, संस्कृत भाषाका वैज्ञानिक संरचनाकार तथा व्याकरणशास्त्रका प्रथम महान चिन्तक मानिन्छन् । उनीद्वारा रचित “अष्टाध्यायी” विश्वकै पहिलो औपचारिक र पूर्णतः सूत्रबद्ध व्याकरण ग्रन्थ हो, जसमा करिब ३,९९५ सूत्रहरू समेटिएका छन् । आठ अध्यायमा विभाजित यो ग्रन्थ संक्षिप्त, प्रतीकात्मक र अत्यन्त वैज्ञानिक ढंगमा लेखिएको छ, जसले संस्कृत भाषालाई नीतिगत, सुसंगत र प्रयोगमैत्री बनाएको छ।
ईसा पूर्व छैठौंदेखि चौथो शताब्दीको बीचमा जन्मिएका पाणिनिकाे कर्मस्थल अर्घाखाँची जिल्लाकाे पाणिनी गाउँपालिका क्षेत्र पर्दछ, जहाँ उहाँले कठोर तपस्या गरी सिद्धि प्राप्त गर्नुभएको किंवदन्ती पाइन्छ। विशेषतः सिद्धेश्वर दह नजिकै २८ दिनसम्म सागपात, जल र अन्त्यमा वायु सेवन गर्दै गरिएको तपस्याबाट प्रसन्न भई भगवान् शिवले पाणिनिलाई आफ्नो ताण्डव नृत्यको डमरु तालबाट उद्भूत १४ माहेश्वर सूत्रहरू प्रदान गरेको विश्वास गरिन्छ। ती सूत्र नै अष्टाध्यायीको मूल आधार बने।
पाणिनिको अष्टाध्यायीले वैदिक र लौकिक संस्कृत दुवैको व्याकरणको संरचनात्मक आधार प्रदान गर्नुका साथै भाषाविज्ञान, संरचनावादी चिन्तन र पछिल्ला दिनमा कम्प्युटर भाषा संरचनासम्मको विकासमा गहिरो प्रभाव छाडेको छ। उनका अन्य योगदानमा धातुपाठ, गणपाठ, उणादिसूत्र तथा जाम्बवती विजय जस्ता कृतिहरू पर्छन्, जसले उहाँको बहुआयामिक प्रतिभा र गहिरो दार्शनिक चिन्तन प्रस्तुत गर्छ।
आजको सन्दर्भमा, पाणिनि केवल अतीतका विद्वान मात्र होइनन्, ज्ञान, संस्कृति र आधुनिक प्रविधि विकासको प्रेरणाका मूर्तिमान उदाहरण पनि हुन्।