प्राचीन ज्ञानको संरक्षण र पर्यटन विकासलाई एकैसाथ अघि बढाउनुपर्छ-मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाणिनि तपोभूमि सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्राचीन ज्ञानको संरक्षण र लुम्बिनी प्रदेशको पर्यटन विकासलाई समन्वय गर्दै अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
अर्घाखाँचीकाे पाणिनिमा सुरु भएकाे पाणिनिको तपोभूमि सम्मेलनकाे उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले महर्षि पाणिनि र पतञ्जलिको योगदानलाई सम्मान गर्दै उहाँहरूको तपोभूमिको गौरवलाई विश्वसामु उजागर गर्नु यस सम्मेलनको प्रमुख उद्देश्य भएको स्पष्ट पारे ।
उनले सम्मेलनलाई केवल औपचारिक सभा नभई, प्राचीन ज्ञान, संस्कृति र इतिहासलाई नयाँ पुस्तासँग जोड्ने अवसरका रूपमा उल्लेख गरे ।
‘‘पाणिनिको तपोभूमिलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उत्खनन्, संरक्षण र अन्तर्राष्ट्रिय प्रचारमा प्रदेश सरकारले विशेष जोड दिएको छ’‘, मुख्यमन्त्री आचार्यले भने, ‘‘यी प्रयासहरूले रोजगारी सिर्जना, आर्थिक समृद्धि र सांस्कृतिक जागरणको आधार तयार गर्नेछन् ।’
उनले समुद्र सतहदेखि ६ हजार ७ सय ७३ फिट उचाइमा अवस्थित पाणेनी क्षेत्रलाई महर्षि पाणिनिको तपोभूमिका रूपमा उल्लेख गर्दै यस क्षेत्रको ऐतिहासिक, धार्मिक र प्राज्ञिक महत्त्वबारे प्रकाश पारे ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई प्राचीन सभ्यता, संस्कृति र ज्ञानको संगमस्थलको रूपमा चित्रण गर्दै बुद्ध जन्मस्थल लुम्बिनी, तिलौराकोट, कुदान, देवदह, रामग्रामलगायत ऐतिहासिक स्थलहरू तथा सिस्ने पुथा हिमालदेखि ढोरपाटन, बर्दिया–बाँके राष्ट्रिय निकुञ्ज, स्वर्गद्वारी, रेसुंगा, रानीमहल र रुरू क्षेत्रजस्ता पर्यटकीय गन्तव्यलाई समेटेर पर्यटन प्रवद्र्धनमा सरकार अघि बढेको उल्लेख गरे ।
प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिएर विकासको स्पष्ट रणनीति तय गरेको जानकारी दिँदै उनले पर्यटनमार्फत समृद्धि हासिल गर्ने लक्ष्यमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
‘‘पाणिनि र पतञ्जलिको तपोभूमि सर्किटले प्राज्ञिक तथा सांस्कृतिक पर्यटनमा नयाँ आयाम थप्नेछ‘’, मुख्यमन्त्रीले भन्नुभयो, ‘‘केन्द्र सरकारको नीतिगत तथा बजेटीय सहयोग, साथै अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रचारमार्फत लुम्बिनी प्रदेशलाई विश्वको प्राज्ञिक, आध्यात्मिक र पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्न सकिन्छ ।‘’
सम्मेलनमा उपस्थित प्रधानमन्त्री, प्राज्ञिक क्षेत्रका प्रतिनिधि, अनुसन्धानकर्ता र सहभागीहरूप्रति आभार प्रकट गर्दै मुख्यमन्त्री आचार्यले पाणिनि र पतञ्जलिको योगदानलाई विश्वव्यापी सम्मान दिलाउन सबैको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे ।
उनले सम्मेलनले नयाँ पुस्तालाई आफ्ना गौरवशाली विरासतसँग जोड्ने सेतुको रूपमा काम गर्ने विश्वास व्यक्त गर्दै, लुम्बिनी प्रदेशलाई सांस्कृतिक समृद्धिको नयाँ शिखरमा पुर्याउने प्रतिबद्धता जनाए ।